श्रमिकको पक्षमा काम गर्नेलाई सम्मान

26 April, 2021

कोरोना महामारीमा श्रमिकको हितमा काम गर्ने एक संस्थाले अन्तर्राष्ट्रिय सम्मान पाएको छ।  ‘वल्र्ड जस्टिस च्यालेन्ज’ले मानव अधिकारका लागि जनमञ्चलाई सम्मान गरेको हो। महामारीको बेला संसारभरिका श्रमिकलाई न्याय दिलाउन पहल गर्ने संस्थालाई सम्मान गर्ने आयोजना गरिएको प्रतियोगितामा नेपालबाट जनमञ्च सम्मानित भएको सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेलले बताए। 

सम्मानका लागि विश्वका एक सय १४ मुलुकका चार सय २५ संस्थाले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ३० संस्थालाई सम्मानित गरिएको हो। वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको जनमञ्चले कोरोना महामारीमा विदेशमा रोजगारी गुमाएकालाई पहिलो चरणमा फर्काउने माग राखी र दोस्रो चरणमा फर्कनेको खर्च सरकारले बेहोर्नुपर्ने रिट सर्वोच्च अदालतमा गरेको थियो। 

दुवै रिटमा सर्वोच्चले अन्तिरम आदेश जारी गरेपछि विदेशमा बेखर्ची भएकालाई निःशुल्क उद्धार गर्न थालिएको छ। सर्वोच्चको आदेशपछि हालसम्म विदेशमा रोजगारी गुमाएर बेखर्ची भएकामध्ये एक सय ५६ को वैदेशिक रोजगार बोर्डले हवाई भाडा बेहोरेर उद्धार गरेको छ।

‘विदेशमा अलपत्र परेकालाई उद्धार गर्नेदेखि लिएर हवाई भाडा बेहोेरेर घर फर्काउनेसम्मको एउटा चक्र पूरा गरेकाले अन्तर्राष्ट्रिय समुदायले सम्मान दिएको महसुस गरेका छौं,’ सर्वोच्चमा दुवै रिट दाय गरेका श्रमविज्ञ लुइँटेलले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024