साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृत्यु

22 September, 2020

विष्णु घिमिरे

साउदी अरेबिया : विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्।

साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको जानकारी गराएको छ। साउदीमा कोरोना संक्रमणबाट रोजगार गुमाएर वा कन्ट्याक्ट सकाएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै समस्यामा परेका छन्। स्वदेश फिर्ताको लागि नेपाली दुतावासबाट नामावली सार्वजनिक हुनुपर्ने, समयमा हवाई उडान नहुने, हवाई टिकट मुल्य साविकभन्दा बढी तिर्नुपर्ने, ट्राभल एजेन्सीले सही समय व्यवस्थापन नगरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उपलब्ध गराउनु पर्ने आदि विविध झनझटिलो प्रक्रियाले निराश भएका छन्।

वाणिज्य दुतावास जेद्धाका अनुसार स्वदेश फिर्ताको लागि तत्काल २ हजार ६ सय नेपाली तयार रहनुको साथै सेप्टेम्बर महिनामा जेद्धा शहरबाट ३ उडान हुनेछ भने ७ सय ७० जना स्वदेश फिर्ता हुनेछन्।

दुतावास रियादका अनुसार साउदीबाट हालसम्म १० हजार नेपाली स्वदेश फिर्ता भएका छन्। तत्कालका लागि थप १० हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारीमा रहेको र सेप्टेम्बर महिनामा १२ उडान हुनुको साथै थप उडानको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुको साथै उडान व्यवस्थापनमा समेत लागि परेको जनाएको छ।

दुतावासका अनुसार ६० भन्दा बढी कम्पनीले चार्टर उडानको लागि आह्वान गरेका छन्। जसअनुसार सम्बन्धित कम्पनीबाट स्वदेश फिर्ताको लागि लगभग ४ हजार नेपाली रहेका छन्। हालसम्म १ हजार १ जनाले बहिर्गमनको भिषा प्राप्त गरेका छन्। साउदी सरकारले सेप्टेम्बर १५ बाट लागु हुने गरी भिषा म्याद भएका आप्रवासी कामदार र अन्य नागरिकलाई साउदी सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर साउदी फर्कन सक्ने जानकारीसहित प्रक्रियाको बारे रियाद दुतावासले औपचारिक रुपमा आफ्नो फेसबुक पेज एम्बेसी अफ नेपाल रियाद मार्फत सम्पूर्ण नेपालीलाई जानकारी गराएको छ।

साउदी अरेबियामा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३० हजार २ सय ४६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ३ लाख ११ हजार ४ सय ९९ निको भएका छन् भने ४ हजार ५ सय १२ जनाको मृत्यु भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024