अलपत्र नेपालीको नियमित उद्धार, कुन एयरलाइन्सको विमान कहाँ ?

27 June, 2020

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमित रूपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।

नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौं ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजिरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याउँदै छन् ।

आज बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुधाबीबाट नेपाली ल्याएको छ भने जजिराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै, नेपाल एयरलाइन्सले बिहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदै छ । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौं ल्याउने विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026