माल्दिभ्समा अलपत्र नेपाली फर्किए

16 June, 2020

पवन पौडेल

 

दमौली : लक डाउनका कारण माल्दिभ्सका विभिन्न भागमा रोकिएका नेपाली स्वदेश फर्किएका छन् । मालेमा गएको हिमालय एयरलाइन्सको विमानबाट उनीहरु नेपालका लागि उडेका हुन् । काम सकिएर तथा रोकिएर माल्दिभ्सका विभिन्न भागमा अड्किएका नेपालीले स्वदेश फिर्ता हुन चाहे पनि नेपालबाट अनुमति नआउँदा फर्किन नपाएको समाचार अन्नपूर्णले केही दिन अघि प्रकाशन गरेको थियो ।

समाचार आएपछि आफूहरुको स्वदेश फिर्तीमा सहजता मिलेको रंगाली आइल्याण्डबाट माले हुँदै नेपाल फर्कन उडेका तनहुँ दमौलीका सन्देश अधिकारीले बताए । ‘हामी आफ्नै खर्चमा आउँछौं भने पनि श्रीलंकाली दुतावासले नेपालबाट अनुमति नपाएको भन्दै रोकेको थियो,’ उनले भने,‘समाचार आएपछि हामीलाई आउन सजिलो भयो ।’ अधिकारी आफू काम गर्ने हिल्टन प्रपर्टीको कंग्रयाट्स माल्दिभ्स होटलका पाँच साथीसहित नेपाल आउँदैछन् ।

यसअघि नेपाल एयरलाईन्सको जहाज माले पुगेर नेपाली लिएर फर्कने भनिए पनि सोमबार उडान स्थगित भएपछि मंगलबार हिमालय एयरलाइन्सको उडानमार्फत उनीहरु स्थानीय समयअनुसार दिउँसोको सवा तीन बजे उडेका हुन् । उनीहरु करिब साढे तीन घण्टामा नेपाल अवतरण हुनेछन् ।

सरकारले नागरिकलाई आउन दिने भनेको सुनेपछि फरक फरक टापुमा रहेका नेपालीले नजिकैको श्रीलंकन दुतावासमा नाम सूचीसहितको निवेदन पठाएका थिए । यसरी घर फर्कन चाहनेको संख्या सात सय बढी पुगेको थियो । तीमध्येका एक सय ५० लाई पहिलो चरणमा नेपाल ल्याउन लागिएको हो ।

एक तथ्यांक अनुसार मालदिभ्सका फरक फरक टापुमा रहेका नेपालीको संख्या १० हजार बढी छ । तीमध्ये अधिकांश होटल तथा रिसोर्टमा काम गर्छन् । कडा लक डाउनका कारण त्यहाँका अधिकांश रिसोर्ट र होटल बन्द भए पनि काम गुमाएका हजार हाराहारीका नेपाली फर्कन चाहेको अधिकारीको दाबी छ । फर्कन चाहने धेरै भए पछि राजधानी मालेमा रहेका पोखराका रेष्टुरेन्ट व्यवसायी मेघनाथ भुषालको पहलमा विमान चार्टड गरेर पनि नेपाली आउने तयारी गरेका थिए । यसको चाँजोपाँजो मिलाउन सक्रिय अधिकारीकै पहलमा ह्वाट्सएप ग्रुपमार्फत नेपाली सम्पर्कमा आएका थिए । 

परराष्ट्र मन्त्रालयका उप सचिव सुरेश अधिकारीले नेपाल फर्किएकाहरुलाई होटलमा क्वारेन्टाइन गरिने व्यवस्था भएको जानकारी दिए । ‘नेपाल आउनासाथ होटलमा क्वारेन्टाइनमा राखिने तयारी भएको छ,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026