साइप्रसमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो

22 April, 2020

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसमा रहेका नेपाली विद्यार्थी र अन्य पेसामा संलग्न नेपाली नागरिहरुका बारेमा चासो व्यक्त गरेका छन् । प्रधानमन्‍त्री ओलीले त्यहाँका राष्ट्रपति निकोस अनास्तासियादेससँग टेलिफोन संवाद गरी नेपालीप्रति चासो दिएका हुन् । 

दुई साताअघि इजरायलका लागि आवासीय राजदूत तथा साइप्रससमेत हेर्ने जिम्मा पाएकी अन्जान शाक्यले साइप्रसमा रहेका नेपाली विद्यार्थीसहित अन्य नागरिकका भिसाको म्याद सकिएकोले समस्या परेको गुनासो आइरहेको परराष्ट्र मन्त्रालयलाई जानकारी दिएकी थिइन् । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्बन्धित मुलुकको सरकारसँग समन्वय गरेर नेपालीहरुका सुरक्षा गर्न राजदूत शाक्यलाई निर्देशन दिएका थिए ।

त्यसको तीन सातापछि प्रधानमन्त्री ओलीले बुधबार साइप्रसका राष्ट्रपतिसँग टेलिफोन संवाद गरेका हुन् ।

ओलीले ट्वीटरमा लेखेका छन्,‘उहाँ (अनास्तासियादेस) ले नेपालीहरुको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नु भयो ।’

प्रधानमन्त्री ओलीले यसअघि पनि विभिन्न मुलुकका राष्ट्र प्रमुखहरुसँग नेपालीका सुरक्षाबारे चासो राखेका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024