अमेरिकामा रहेका नेपालीद्वारा झापाका मजदुरलाई सहयोग

4 April, 2020

२१ चैत, वासिङटन डिसी । अमेरिकामा रहेका नेपालीहरुद्वारा सञ्चालित सामाजिक संस्था मिसन रिबिल्ड नेपालले झापाको शिवगञ्जमा खाद्यान्न वितरण गरेको छ। 

कोरोना भाइरसको भयका कारण नेपाल पूर्णरूपमा लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी गुजारा चलाउने गरिब नेपालीहरुलाई केही सहायता पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वको भावले खाद्यान्न वितरण गरेको संस्थाका अभियन्ता डा. मदन उप्रेतीले जानकारी दिए। 

पहिलो चरणमा शिवसतासी नगरपालिका अन्तर्गत् वडा नम्बर ६ का ६० परिवारलाई गत १ अप्रिलमा सम्बन्धित परिवार समक्ष पुगी चामल, तरकारी र दाल वितरण गरेको उप्रेतीले बताएका छन् । 

उद्योग वाणिज्य संघ शिवसतासी पनि यो अभियानमा सरिक भएको र अप्रिल ३ तारिखसम्ममा उक्त वडाका एक सय ७५ परिवारलाई राहत वितरण गरिएको वितरणमा सहभागी स्थानीय युवाहरुले सहजीकरण गरेको सहजकर्ता तथा जनआदर्श उच्च माविमा कार्यरत शिक्षक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । 

श्रेष्ठका अनुसार पहिलो चरणमा मास्क पनि वितरण गरिएको तर बजारमा मास्कको अभाव भएका कारण पछिल्लो चरणमा मास्क वितरण गरिएको छैन। 

स्थानीय सरकार अन्तर्गत् सम्बन्धित वडा कार्यालयले सूचीकृत गरेका दुई सय ५० परिवारका ९ सय २५ जना गरिब, पिछडिएका र मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ । 

खाद्यान्न वितरणमा स्थानीय वडा कार्यालय, जनप्रतिनिधि, रेडक्रस सोसाइटी शिवसतासी तथा स्थानीय युवाहरुले सहजीकरण गरेको सहजकर्ता शिक्षक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । 

खाद्यान्य वितरणका लागि मिसन रिबिल्ड नेपालले अमेरिकामा अनलाइन डोनेसन मार्फत‍् रकम संकलन गरिरहेको छ । न्यूनतम पाँच हजार डलरले मिसन पूरा गर्ने लक्ष्य लिइएको उक्त कोषमा चार दिनभित्रमा करिब दुई हजार दुई सय डलर जम्मा भइसकेको छ। मनकारी दाताहरुलाई सहयोग गर्न मिसन रिबिल्ड नेपालको वेभसाइटमा गएर अनलाइन डोनेसन गर्न सकिने जनाइएको छ । 

संस्थाले २०७२ को विनाशकारी भूकम्पबाट पीडितहरुको लागि सिन्धुपाल्चोकमा करिब आठ सय ५० वटा घर र एउटा विद्यालय निर्माण गरिसकेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024