‘मरे पनि आफ्नै देशमा मर्छु’ भन्दै फर्किए नेपाली

14 March, 2020

रविन भट्टराई

 भारतको विहारस्थित पूर्णियाको कम्प्यूटर पसलमा काम गर्दै आएका मोरङ बेलबारीका राजेश मिश्रा एक महिनाका लागि शुक्रबार घर फर्किए। गत दसैंमा घर आएका राजेश अर्को दसैंमा मात्रै घर आउने तयारीमा काममा गएका थिए तर कोरोना भाइरसको संक्रमण भारतमा समेत बढ्न थालेपछि उनी घर फर्किएका हुन्।

विराटनगरस्थित शुक्रबार जोगवनी नाकामा भेटिएका राजेशले भने, ‘भारतमा भाइरस फैलँदैछ, के थाहा आफूलाई पनि लागे न घर भेटिन्छ न त परिवार नै, मरे पनि घरमै मर्न पाइयोस् भनेर बिदा लिएर घर आएको हुँ।’ संक्रमण घटे एक महिनापछि काममा फर्कने नत्र कामै छोडिदिने उनी बताउँछन्। ‘भारतभन्दा नेपाल सुरक्षित लाग्यो, नेपालमा संक्रमण देखिएको छैन, बिरामी भइहाले पनि परिवारसँग भइन्छ’, उनले भने। राजेशजस्तै भारतमा रहेर मजदुरी गर्ने नेपाली अहिले धमाधम नेपाल फर्कदैछन्। प्रदेश १ को सीमा नाका भएर नेपाल फर्कर्नेको लर्को देख्दा दसैं तिहारको जस्तो झल्को आएको विराटनगर ८ का स्थानीय सुरज पौडेल बताउँछन्। ‘जोगवनी समान किन्न गएको, बाटोमा फर्कनेको लाइन, त्यो पनि रेल आएको समयमा त यो ठाउँमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैन’, उनले भने, ‘कोरोनाको डरले धेरै नेपाली काम छाडेर स्वदेश फर्किए।’

झापाको काँकडभिट्टा र मोरङको जोगवनी नाकामा स्थलमार्ग हुँदै आउने यात्रुको चाप ह्वातै बढेको नाकामा खटिएका सुरक्षाकर्मी बताउँछन्। ‘जोगवनी–फारवीसगञ्ज सडक खण्ड भएर दैनिक हजारौं नेपाली फर्किरहेका छन्’, जोगवनी नाकामा खटिएका एक सशस्त्र प्रहरीले भने, ‘अहिले ट्रेनबाट फर्कनको संख्या पनि उच्च छ।’ गत सातादेखि नेपाल फर्कनेको चाप बढेको जोगवनी नाकामा नेपाल भित्रनेको स्वास्थ्य परीक्षणमा खटिएकी अहेव दिलमाया परियारले बताइन्। ‘फागुन २०/२१ गतेसम्म यस्तो चाप थिएन, पछिल्लो ३÷४ दिनदेखि ठूलो संख्यामा भारतमा काम गरिरहेका नेपाली नेपाल फर्कन थालेको भेटियो’, अहेव परियारले भनिन्, ‘धेरै चाप बढेकाले स्वास्थ्य परीक्षण गर्न पनि दिनभर भीड हुन्छ।’ चाप बढेपछि स्वास्थ्यकर्मीलाई सशस्त्र र नेपाल प्रहरीले सहयोग गर्न थालेका छन्।

इ–हाजिरी बन्द

कोरोनाको संक्रमणबाट कर्मचारीलाई जोगाउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको भद्रपुर नगरपालिकाले विद्युतीय हाजिरीको व्यवस्था बन्द गरेको छ। दुवै कार्यालयले शुक्रबारबाट सूचना प्रकाशन गर्दै अर्को सूचना जारी नभएसम्म खातामै हाजिर गर्न कर्मचारीलाई सूचित गरेको छ। भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले नगरपालिका कार्यालयसहित नगर क्षेत्रका विद्यालय र सरकारी कार्यालयमा खातामा हाजिरीको व्यवस्था मिलाउन निर्देशन दिएको बताए। भद्रपुर नगरपालिका हजारभन्दा बढी कर्मचारी विद्युतीय हाजिरी गर्छन् भने अस्पतालमा शिक्षक, कर्मचारी, विद्यार्थी, पदाधिकारी गरी करिब १० हजारको संख्या रहेको प्रतिष्ठानले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024