कोरियामा औद्योगिक क्षेत्रमा कोटा निर्धारण

8 March, 2020

पछिल्लो समय रोजगारीका लागि नेपालीहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाले आउँदो वर्षका लागि औद्योगिक क्षेत्रमा कोटा निर्धारण गरेको छ ।

कोरियाले आउँदो वर्ष औद्योगिक क्षेत्रका लागि ५ हजार ७ सय जना नेपाली कामदार लैजाने इपीएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

नेपालस्थित कोरियाका एचआरडी प्रतिनिधि, श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागबीच भएको छलफलबाट यस्तो निर्णय भएको इपीएस कार्यालयले जनाएको छ ।

एचआरडीले आगामी वर्षका लागि कृषि क्षेत्रमा भने कोटा तोकेको छैन् । तर, सन् २०१८ र २०१९ मा कृषि क्षेत्रमा रोजगारीका लागि जाने भनि परिक्षा उत्तीर्ण भई रोष्टरमा बसेका तर जान नपाएकाहरु आउँदो वर्ष सोही क्षेत्रका लागि जान पाउने इपीएसले जनाएको छ ।

सन् २०१८ र २०१९ मा कृषि क्षेत्रमा पास भएका विद्यार्थीहरूले भाषा र सीप परीक्षामा उतीर्ण गरेता पनि रोजगारीका लागि जान नपाएको भन्दै आन्दोलनसमेत गरेका थिए । परिक्षा पास भई बसेकाहरुलाई नै लैजानका लागि आउँदो वर्षका लागि कृषि क्षेत्रको रोजगारीको कोटा निर्धारण नगरिएको एपीएस कार्यालयका निर्देशक खनालले जानकारी दिए ।

‘कृषि क्षेत्रका लागि नेपाली कामदारको सूची रोष्टरमा पर्याप्त संख्या छ’ उनले भने ‘कृषि क्षेत्रमा नलाने भनिएको होइन्, तर पुरानो रोष्टरमा भएका विद्यार्थीहरूलाई नै पठाउने हो ।’

भाषा तथा सीप परीक्षणमा पास भएका तर कोरियार जान नपाई दुई वर्षे अवधि गुज्रेकाहरुले भने भाषा र सीपको परिक्षा दिनु पर्ने हुन्छ । हालसम्म कोरियाली भाषा र सीप परीक्षामा पास भएका ३ हजार २ सय ५३ जान नेपालीहरू जान पाएका छैनन् ।

गत वर्ष एचआरडीले नेपाली श्रमिककको लागि १० हजार ५० जनाको कोटा तोकेको थियो । त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो ।एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ९ सय ८ जना मात्र उत्तीर्ण भएका थिए ।

बायोमेट्रिक लागु हुने

नेपालबाट कोरिया जाने क्रममा नक्कली व्यक्तिहरुको समेत संलग्नता देखिएको भन्दै अब यस प्रकृयामा बोयोमेट्रिक प्रणाली शुरु गरिने भएको छ । भाषा परिक्षाका क्रममा नक्कली परिक्षार्थीको सहभागिता हुने गरेकाले यो प्रणाली लागू गर्न खोजिएको बताइएको छ ।

अबदेखि इपीएस भाषा परीक्षामा सहभागी हुनुभन्दा अगाडि नै बायोमेट्रिक परीक्षण हुने निर्देशक खनालले जानकारी दिए । यसका लागि हरेक परीक्षा सेन्टरमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिने छ ।

इपीएसमार्फत ६५ हजार नेपाली कोरिया पुगे

कोरियामा हालसम्म ६५ हजार ८ सय ४५ नेपाली इपीएसमार्फत रोजगारीमा पुगेका छन् । जसमा ६१ हजार ८ सय ९४ पुरुष र ३ हजार ९ सय ५१ महिला रहेका छन् । इपीएस कार्यालयका अनुसार कोरियामा हाल ४० हजार नेपाली कार्यरत रहेका छन् ।

सन् २००७ मा नेपालबाट कामदार लैजाने श्रम सम्झौता भएको थियो । त्यस यता कोरिया नेपाली युवाका लागि आकर्षक गन्तब्यका रुपमा रहँदै आएको छ । कोरिया जाने उद्देशयसहित सन् २००८ देखि सन् २०१९ सम्ममा ५ लाख ८९ हजार ६ सय १८ जना नेपाली युवाहरूले आवेदन भरेका छन् ।

आवेदन भरेकामध्ये ५ लाख ४८ हजार ७ सय ७१ जना परीक्षामा सामेल भएका थिए । परीक्षार्थीमा ७० हजार ४ सय ६९ पास भएका छन् भने ६९ हजार ९८ जनाले रोजगारीको आवेदन भरेका थिए । आवेदन भरेका मध्ये ६५ हजार कोरिया जान पाएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026