बालकलाई भारतमा बेचेको आरोपमा एक व्यक्ति पक्राउ

21 February, 2020

एक बालकलाई भारतमा लगेर विक्री गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।तुलसीपुरको तल्लो हलवार निवासी ३६ वर्षीय काजु चौधरी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा निरीक्षक चक्र डम्बरपालले चौधरीमाथि तुसलीपुरको बिजौरी निवासी १४ वर्षीय विशाल चौधरीलाई भारतको सिमलामा लगेर बेचेको आरोपमा पक्राउ गरिएको बताए।

विशाल काजु चौधरीको नाताले साला नाता हुन्। उनले ललाइफकाइ विशाललाई भारतमा लगेर विक्री गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता पालले जानकारी दिए।

चौधरीविरूद्ध २०७५ माघ २५ गते इप्रका तुलसीपुरमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा परेको थियो।

आरोपितलाई खोजी गर्ने क्रममा फागुन ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

गत साल एक युवाले विशाललाई कैलालीका पत्रकारको सहयोगमा भारतबाट उद्धार गरेर दाङस्थित घर ल्याएपछि उनी आफन्तबाटै बेचिएको खुल्न आएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024