देवबहादुर कुँवर / मधुसूदन तिमिल्सिना
काठमाडौँ, माघ २६ गते । बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन । यो शरणार्थी शिविर भएको छ । म्यानमारबाट आएका रोहिङ्गा शरणार्थीका रूपमा यहाँ बस्दै आएका छन् ।
शिविरमा दिउँसो तन्नेरी महिला–पुरुष नभई बालबालिका मात्र देखिन्छन् । शिविर आसपासका स्थानीयका अनुसार मजदुरी र ज्यालादारी गर्न बजार निस्किने गरेकाले दिउँसो शरणार्थी शिविर सुनसान हुने गरेका हुन् । रोहिङ्गा शरणार्थी शिविर छोडेर मजदुरी र ज्यालादारी गर्न थालेपछि व्यवस्थापनमा थप समस्या उब्जेको छ । बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारीले रोहिङ्गा दिनभर मजदुरी गरी राति सुत्नमात्र शिविर आउने भएकाले शान्तिसुरक्षा व्यवस्थापनमा चुनौती थपेको बताउनुहुन्छ ।
स्थानीय राजन केसी, हरिशचन्द्र श्रेष्ठ र रामसुन्दर अधिकारीलगायतका जग्गाधनीलाई शरणार्थीले कहिले जग्ग्गा छोड्लान र खेती गरौँला भन्ने जस्तै भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘शिविर भित्रबाट शान्तिसुरक्षा खल्बल्याउने किसिमका आपराधिक गतिविधि सञ्चालन हुन्छन् कि भन्ने चिन्ता पनि छ ।’’कतिपय शरणार्थी शिविर छोडेर अन्यत्रै जाने, आपसमा झैझगडा र स्थानीयसँंग विवाद गर्ने भएकाले सुरक्षाको दृष्टिकोणले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । एकजनाको आठवटीसम्म श्रीमती फेला परेकाले थप रोहिङ्गा भित्रिन सक्ने चुनौती पनि त्यत्तिकै छ ।त्यस्तै शिविरमा हुने अवैध र शङ्कास्पद गतिविधिको अनुगमन तथा निगरानी हुन नसक्दा भविष्यमा थप सङ्कट निम्तिनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्ष अधिकारी रोहिङ्गाको गतिविधिबाट स्थानीयवासी आजित भइसकेको बताउनुहुन्छ ।कुन दिन स्थानीय र शरणार्थीबीच झडप हुन्छ भन्ने चिन्ता छ । दलाललाई रकम उपलब्ध गराउनेदेखि राहत
वितरणसम्म एकआपसमा विवाद हुने गरेको छ । कोही शिविर छोडेर भाग्न थालेका छन् । कोही शरणार्थी राहत र आश्रयको माग गर्दै विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था धाइरहेका छन् ।
यकिन सङ्ख्याको अभाव
लसुनटार र राममन्दिरमा गरी करिब १४ रोपनी जमिनमा ३५० देखि ३८० जनासम्म शरणार्थी रहेको अनुमान गरिएको छ । एउटै व्यक्तिको आठवटीसम्म श्रीमती भएकाले बालबालिका तथा महिला–पुरुष गरी स्पष्ट सङ्ख्या उल्लेख हुन नसकेको हो ।
त्यहाँबाट ४० छाप्रोका करिब ४० परिवार दुई महिना अघि उठेर काभ्रेको पनौती पुगेका थिए । तर शरणार्थीको कुल सङ्ख्या पनि चार सयको हाराहारी हुनसक्ने बताइएको छ । गृह प्रवक्ता केदारनाथ शर्मा तीन सयदेखि ३५० को हाराहारीमा हुनसक्ने बताउनुहुन्छ ।
म्यानमारका रोहिङ्गा शरणार्थी बीचका विभिन्न मुलुकको सिमाना पार गरी कहिले र कसरी नेपाल आए सरकारी निकायसँंग स्पष्ट सूचना छैन । प्रवक्ता शर्मा भन्नुहुन्छ, ‘‘खुला सिमाना मुख्य कारण हुनसक्छ ।’’ उहाँले थप रोहिङ्गा आउन नदिन बोर्डर आउट पोस्ट (बीओपी) थप्नुका साथै सम्भावित नाकामा कडाइ गरिएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय शरणार्थी आयोग (यूएनएचसीआर) को नेपाल पक्ष राष्ट्र होइन । शरणार्थीलाई कानुनसम्मत हटाउन सक्ने अधिकार छ । सरकारी अधिकारी भन्छन्, ‘‘शान्तिभूमि, मानव अधिकार र मानवीय नाताले आश्रय दिनुपर्ने बाध्यता छ ।’’
नेपालमा चीनको तिब्बतबाट करिब १२ हजार र भुटानबाट ६५ हजार शरणार्थी आएका छन् । शरणार्थी बौद्ध कपन क्षेत्रमा बस्ने गरेकाले आपराधिक गतिविधि सञ्चालनमा नेपालको भूमि दुरूपयोग हुनसक्ने खतरा त्यत्तिकै छ ।
आठ वर्षअघि नै सुरु
म्यानमारबाट बङ्गलादेश पसेकामध्ये करिब एक सय जना रोहिङ्गा शरणार्थी भारत हँुदै नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानका सङ्गठित दलालमार्फत प्रतिव्यक्ति २५ देखि ४० हजार भाट शुल्क तिरेर नेपाल आएका हुनसक्ने बताइन्छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि उनीहरू अन्य नागरिकसँंगै रोहिङ्गा सडकमा निस्केपछि सरकार सतर्क हुन बाध्य भएको थियो । भूकम्पपछि थप रोहिङ्गा नआएको दाबी सरकारी निकाय छ तर स्थानीयवासी भने ५० जनाभन्दा बढी थपिएको बताउँदै आएका छन् ।भूकम्पअघि घर, कोठा तथा फल्याट भाडामा लिएर बस्दै आएका रोहिङ्गा पछि सङ्गठित रूपमा सर्वसाधारणको जग्गा भाडामा लिई टहरा बनाएर बस्न थालेका हुन् । नेपाल प्रहरीले भाषा, धर्म, संस्कृति र व्यावहारिकताको दृष्टिकोणले अन्य शरणार्थीभन्दा रोहिङ्गालाई ‘खतरा’को सूचीमा राखेको छ ।
शान्तिसुरक्षा तथा अनुगमन
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले रोहिङ्गाका गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको बताउनुभयो । स्थानीय प्रहरीले स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरी रोहिङ्गा शरणार्थीका विषयमा शान्तिसुरक्षा तथा अनुगमन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
यसैबीच आर्थिक प्रलोभनमा रोहिङ्गा नेपाल भिœयाउन सक्रिय दलालमाथि कडा कारबाही हुनुपर्ने माग उठे पनि सरकार मौन बसेको आरोप लागेको छ । दलालले नै रोहिङ्गालाई ज्याला–मजदुरीको काम खोज्नेदेखि काभ्रेको पनौतीसम्म पु¥याएको पाइएको छ ।राहत वितरणमा पनि शिविरमा सक्रिय दलालबीच नै रकम लेनदेनको विषयमा झगडा हुने गरेको छ । वडाध्यक्ष अधिकारीका अनुसार विभिन्न गैरसरकारी सङ्घसंस्थाको आवरण रोहिङ्गा शरणार्थीलाई संरक्षण दिने कार्य भइरहेको छ । भाडाको जग्गाबाट हट्नेबित्तिकै सरकारी जग्गा कब्जाको रणनीतिमा दलाल सक्रिय देखिएका छन् ।
छाडे कुशादेवी पनि
रोहिङ्गा समुदायले पनौती नगरपालिका—३ कुशादेवी छाडेका छन् । म्यानमारबाट लखेटिएपछि नेपाल छिरेर मङ्सिर १० गतेबाट पनौतीको कुशादेवी बस्दै आएका रोहिङ्गा यहाँ छाडेर काठमाडौँ गएका हुन् ।
उनीहरू बङ्गलादेश, भारत हुँदै नेपाल आइपुगेका थिए । समूहका नेता मोहम्मद यसुपले कुशादेवी छाडेर काठमाडौँ कपन बस्न थालेको जानकारी दिनुभयो । पाँच वर्ष बस्ने सहमति गरेका थियौँ तर स्थानीयको दबाबका कारण साहुले जग्गा छाड् भनेपछि हामी छाडेर काठमाडौँ कपन गएको उहाँले जानकारी दिनुभयो । काठमाडाँैंबाट मङ्सिर १० गते यहाँ आइपुगेका रोहिङ्गाले चार रोपनी जग्गामा अस्थायी टहरा बनाएका थिए । कुल ३४ जना बसोवास गर्दै आएका रोहिङ्गामा १३ जना पुरुष नौ जना महिला र १२ जना बालबालिका थिए ।