श्रम, राेजगार तथा सामाजिक सुरक्षा छाया मन्त्री डा. डिला संग्रौलाले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका युवालाई प्रदान गरिने राहत व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने भन्दै छलफलका प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निगरानीका लागि नौ महिना अघि पार्टीबाट छाया मन्त्रीको जिम्मेवारी पाएकी डा.संग्रौलाले प्रतिनिधिसभा नियमावली, ०७५ को नियम ७१ बमोजिम सो विषयमा छलफलका लागि प्रस्ताव दर्ता गरेकी हुन् ।
वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनौट प्रक्रियामा भएको व्यवस्था विपरीत कामदार पठाउँदा संकट सिर्जना हुने गरेको प्रस्तावमा उल्लेख गर्दे डा. संग्रौलाले अवैध बाटो हुँदै विदेश जानेहरूले थप समस्या निम्ताएको बताएकी छन् ।
उनले मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने पनि बताएकी छन् ।
छलफल गर्नुका कारण प्रस्ट्याउँदै डा.संग्रौलाले वैदेशिक रोजगारीका समस्याहरूको दीर्घकालीन समाधान खोज्न, कोमामा रहेका युवाको उपचार, परिवारको आर्थिक सहयोगका साथै रोजगारीको अवसर प्रदान र सरकारल गरेको सम्झौता अनुसार मलेसियाली कम्पनीसँग सीधा संवादमार्फत् रोजगारी सुनिश्चित गर्न छलफल आवश्यक रहेको प्रस्तावमा उल्लेख गरेकी छन् ।