हुबेइबाट १ सय ८० जना नेपाल फर्किन इच्छुक

2 February, 2020

लक्ष्मी लम्साल

बेइजिङ — कोरोना भाइरस फैलिएको चीनको हुबेइ प्रान्तबाट १८० जना नेपाली विद्यार्थीहरूले नेपाल फर्किनका लागि आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासले शनिबार एउटा सूचना प्रेषित गर्दै विद्यार्थीहरूलाई आइतबार बिहान ९ बजेसम्ममा फारम भर्न सूचित गरेको थियो। दूतावासले दिएको जानकारी अनुसार कोरोनाको उद्गमथलो वुहान सहित हुबेइ प्रान्तका अन्य सहरमा रहेका विद्यार्थीहरूले फर्किने इच्छा देखाएका हुन्।

वुहान युनिभर्सिटी, चोङ्ह्वा विज्ञान तथा प्रविधि विश्वविद्यालय अन्तर्गत थोङ्ची मेडिकल कलेज, हुबेइ युनिभर्सिटी अफ मेडिसिन, सेन्ट्रल साउथ युनिभर्सिटी, सीसीएनयू, चाइना एकेडेमी अफ साइन्स, वुहान युनिभर्सिटी अफ टेक्नोलोजी, चाइनिज युनिभर्सिटी अफ जिओसाइन्स, याङ्त्से युनिभर्सिटी, हुबेइ मिन्चु युनिभर्सिटी र ह्वाचोङ कृषि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले फारम भरेको दूतावासले जनाएको छ। फारम भर्नेमध्ये वुहानका ६३, चिङ्चाैका ५०, अनशका २९, श्यानका २८ र यिछाङ्का ५ जना विद्यार्थी छन्।

हुबेइ प्रान्तमा कूल १ सय ८८ जना नेपाली रहेको दूतावासले जनाएको छ। कामदारको पासपोर्ट रोजगारदाताको मातहत हुने भएकाले त्यहाँ काम गरिरहेका कुनै पनि कामदारले फारम भरेका छैनन्।

दूतावासका नियोग उपप्रमुख सुशील लम्सालका अनुसार नेपालबाट नेपाल एयरलाईन्स चीनमा पठाइएपछि फारम भर्ने विद्यार्थीहरूको विमानस्थलमै स्वास्थ्य जाँच गरिने बताए। उनले भने,‘स्वास्थ्य परीक्षणको नतीजा अनुसार विद्यार्थीहरूलाईनेपाल लैजाने कि चीनमै उपचार गर्नेबारे निर्णय हुनेछ।दूतावासका अनुसार हालसम्म हुबेइ प्रान्तमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024