कामदारले पारिश्रमिक नपाएपछि सडक निर्माण ठप्प

27 January, 2020

दमन राई

खोटाङ – कामदारको अवरोधका कारण खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रे काम तीन सातादेखि अवरुद्ध छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले पारिश्रमिक नदिएपछि आक्रोशित कामदारले पुस २० गतेदेखि सडकको काम ठप्प बनाएका हुन्। काम गरे पनि ठेकेदारले वर्षौंसम्म पारिश्रमिक नदिएर झुलाएपछि काम ठप्प पारेर विरोधमा उत्रनुपरेको कामदार बताउँछन्। कामदारको अवरोधका कारण गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत महुरे–सिमपानी सडकको कालोपत्रे हुन नसकेको हो।

जिल्ला प्रशासन कार्यालयमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले पुस २० गतेसम्म पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका भए पनि सम्झौता अनुसारको मितिमा भुक्तानी नदिएपछि कामदारले सडकको काम रोकेका हुन्। तोकिएको मितिमा पारिश्रमिक नपाएको विरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीका टिपर, ट्यांकरलगायत सवारीसाधनको चाँबी खोसेर काम ठप्प बनाएका हुन्। निर्माण कम्पनीले केही दिनभित्र कामदारको पारिश्रमिक भुक्तानी गर्ने र अवरुद्ध कामलाई निरन्तरता दिने जबाफ दिएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर प्रवीण चौधरीले बताए। ‘निर्माण कम्पनीसँग बारम्बार सम्पर्क भइरहेको छ। कामदारलाई पारिश्रमिक दिएर केही दिनभित्रै सडकको काम अघि बढाउँछौं भन्ने जबाफ निर्माण कम्पनीका तर्फबाट आएको छ,’ इन्जिनियर चौधरीले भने, ‘गाडीको चाँबीसमेत कामदारले खोसेको अवस्था छ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारको पुस २० गते विजयखर्कको मालामा भएको भेलाले पारिश्रमिक नपाएका कारण काम ठप्प बनाउने निर्णय गरेको थियो। पारिश्रमिक दिने भनिएको मिति र स्थानमा ठेकेदारका प्रतिनिधिसमेत देखा नपरेपछि आक्रोशित कामदारले निर्माण कम्पनीका ६ वटा टिपर, एउटा पानी ट्यांकर, दुइटा एस्काभेटर, एउटा बोलेरो र एउटा ब्याकहोलोडरको चाँबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुइपालाई बुझाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। डेढ–दुई वर्षदेखि पसिना बगाइरहेका कामदारले तोकिएको मितिमा पैसा नपाएपछि काम रोकेर विरोधमा उत्रिएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए। निर्माण कम्पनीले पारिश्रमिक नदिएसम्म काम अवरुद्ध पार्ने कामदारको चेतावनी छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीका साइट इन्चार्ज पुष्प शाहीले भने केही दिनभित्रै कामदारले पारिश्रमिक पाउने दाबी गरे। ‘केही दिनभित्रै कामदारको पारिश्रमिक भुक्तानी हुन्छ,’ शाहीले भने, ‘काम ठप्प भएको छैन। नालीको काम अहिले पनि भइरहेको छ।’

महुरेमा रातदिन गिटी कुटेका दर्जनौं महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन्। गिटी कुटेबापत् एकजनाले कम्तीमा ३० हजार रुपैयाँ पाउन बाँकी रहेको महिला कामदारको गुनासो छ। ठेकेदारले पारिश्रमिक नदिएपछि कामदार न घर फर्कन सकेका छन् न निरन्तर काममा खटिन सकेका छन्। कामदार ल्याएर काम गराइरहेका पेटी ठेकेदारले समेत भुक्तानी पाउन सकेका छैनन्।

लामो समयसम्म कामदारलाई पारिश्रमिक नदिएका ठेकेदारले सडक आसपासका होटल व्यवसायी, खाद्य तथा किराना पसल, पेट्रोलपम्पलगायतको उधारो रकमसमेत नतिरेको बताइएको छ। निर्माण कम्पनीका कर्मचारीले होटल तथा पसलमा खाएको र पेट्रोल चलाएको लाखौं पैसा नपाएपछि स्थानीय व्यवसायीसमेत कामदारको पक्षमा उभिएका छन्। करिब ९१ करोड रुपैयाँ लागतमा २०७७ साउन ११ गतेसम्म काम सक्नेगरी २०७३ असार ३० गते सम्झौता गरेर महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेका काम थालेको निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक र ३३ प्रतिशत वित्तीय प्रगति गरेको बताइएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भन्ज्याङसम्मको २७ किलोमिटर देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी तथा महुरेदेखि सिमपानी भन्ज्याङसम्मको २२ किलोमिटर खण्डमा कालोपत्रे गर्ने जिम्मा भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले पाएका हुन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024