मलेसियाको श्रम स्वीकृति सुरु

10 April, 2019

सीता शर्मा

मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई र मङ्गलबार १७ जना गरी १९ जनालाई अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही चैत १७ गतेदेखि मलेसियाको कलिङ भिसा आएका व्यक्तिका लागि श्रम स्वीकृति दिने गरी खुला गरेको थियो । यसका लागि कलिङ भिसा आएकाको नेपालस्थित मलेसियाली दूतावासबाट राहदानीमा छाप हान्नुपर्ने भएकाले हिजो सोमबार अबेरबाट मात्रै कलिङ भिसा आएकाले श्रम स्वीकृतिका लागि आउन थालेको ताहचलस्थित श्रम कार्यालयका प्रमुख तेजेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी सोमबारदेखि श्रम स्वीकृति खुलेको हो । पहिलो चरणमा कलिङ भिसा आएकाको श्रम स्वीकृति दिन थालिएको हो ।

मलेसियाका रोजगारदाताबाट दुई महिनाअघि कलिङ भिसा पठाएकालाई विभागले भिसा दिन श्रम कार्यालय ताहचललाई पत्राचार गरेको छ ।  विभागले मलेसियन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी सङ्घलाई जिम्मा दिएको छ । सङ्घले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको छ । सङ्घका अनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् । कलिङ भिसा लागेकाले अन्तिम श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने बताइएको छ । श्रम सहसचिव रामप्रसाद घिमिरेले कलिङ भिसा आएकालाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन सुरु गरेको र नयाँका लागि पनि प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

श्रम मन्त्री गोकर्णराज विष्टले मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको आर्थिक शोषण अन्त्य गर्न गत जेठ २ गते कठोर निर्णय गर्नुभएको थियो । मन्त्री विष्ट आफ्नो निर्णयमा अडिग रहेर मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि गएको मलेसियाको रोजगारी बन्द भएको थियो । त्यसयता नेपाली युवा मलेसिया जान पाएका थिएनन् । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड पठाएसँगै मलेसिया जान चाहने नेपाली श्रमिकका लागि रोजगारी खुल्ने भएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024