श्रम कार्यालय जनकपुर : बिचौलिया र कर्मचारी पक्राउ

9 April, 2019

राजकरण महतो

श्रम तथा रोजगार कार्यालय जनकपुरलाई बदनाम गराउने बिचौलिया र कर्मचारी पक्राउ परेका छन्। सेवाग्राहीलाई मुड्की लगाउने प्रहरीमाथि पनि विभागीय कारबाही थालिएको छ।

बिचौलियाद्वय कमला नगरपालिका–३ का रामभगत यादव र जनकपुर उपमहानगरपालिका–१६ का अजय साह तथा कार्यालयका कर्मचारी लक्ष्मीनिया गाउँपालिका–५ बस्ने सरोजकुमार यादवलाई पक्राउ गरिएको धनुषाका एसपी शेखर खनालले बताए। यस्तै प्रहरी जवान उनितकुमार विभागीय कारबाहीमा परेका छन्।

 

एसपपी खनालका अनुसार बिचौलिया यादव र साहले तुरुन्त श्रम स्वीकृति गराइदिने भन्दै एक सेवाग्राहीसँग नगद १३ हजार लिएका थिए। तर, उनीहरूले ती सेवाग्राहीको काम गराउन सकेनन्। त्यसपछि सेवाग्राही काम गराउन दिएको रकम फिर्ता माग्न बिचौलियाकहाँ गएका थिए। सोही क्रममा बिचौलिया र कर्मचारी यादवले सेवाग्राहीलाई कुटपिट गरेका थिए। पीडितको उजुरीपछि तीनैजनालाई पक्राउ गरेर सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाइएको छ।

 

यस्तै भीड नियन्त्रणका नाममा सर्वसाधारणमाथि मुड्की लगाउने जनकपुर उपमहानगरपालिका १२ स्थित हनुमानगर प्रहरी चौकीका जवान उनितकुमार यादवमाथि विभागीय कारबाही सुरु गरिएको एसपी खनालले बताए। ‘साहलाई स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘अब थप कारबाही हुन्छ।’बिचौलिया यादव र साहलाई श्रम तथा रोजगार कार्यालयको गेटबाट प्रहरीले पक्राउ गरेको थियो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024