रेस्टुरेन्ट तथा बारमा सेवा शुल्क हटाउने रेवानको निर्णयको विरोधमा मजदुर संगठन

30 January, 2019

रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय फिर्ता लिन माग गर्दै मजजुर संगठनहरु आन्दोलित भएका छन् ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवान (काठमाडौं, पोखरा र सौराहा) को सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको थियो ।

त्यसको विरोधमा बुधबार काठमाडौंको दरबारमार्गमा भएको तीन मजदुर संगठनको भेलाले उक्त निर्णय फिर्ता लिन रेवानलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।

होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघ र नेपाल स्वतन्त्र होटेल संघले सेवा शुल्क हटाउने रेवानको निर्णयमा असहमति जनाएका छन् ।

अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघका महसचिव मुक्ती दाहालले निर्णय फिर्ता नलिए भौतिक कारवाहीमा उत्रिने चेतावनी दिए ।

होटलका परिकारको शुल्क घटाउन छोडेर मजदुरले पाउने १० प्रतिशत शुल्क हटाउनु ठिक नभएको उनको भनाइ छ ।  मजदुर संगठनका नेताहरुले रेवानले गरेको सेवा शुल्क फिर्ता लिने निर्णयको प्रतिलिपी जलाएर विरोध जनाएका थिए ।

तत्कालीन माओवादी र अन्य मजदुर संगठनहरुले दबाव दिएपछि होटल व्यवसायी र मजदुर संगठनबीच अनिवार्यरुपमा ग्राहकबाट १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो । सन् २००६ देखि यसरी ग्राहकबाट १० प्रतिशत अनिवार्य शुल्क लिन थालिएको थियो ।

झण्डै सात महिनाअघि होटल संघ नेपाल र मजदुरबीच ग्राहकबाट लिइने १० प्रतिशत सेवा शुल्क भागबण्डा गर्ने सहमति भएको थियो ।

त्यसमध्येको ७२ प्रतिशत कामदारलाई, २३ प्रतिशत प्रतिष्ठानलाई, ३ प्रतिशत तीन ठूला टे्रड युनियन संगठनलाई र २ प्रतिशत होटल संघलाई दिने सहमति थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024