फरक क्षमताले सफल

26 January, 2019

भीमकुमार बाँस्कोटा

फिदिम नगरपालिका–४ डाँडागाउँका ३५ वर्षीय चूडामणि बाँस्कोटाले वैदेशिक रोजगारीका क्रममा बाँया हातको पञ्जा गुमाए। २०६२ सालमा मलेसियाको बालकङस्थित वेलसन इन्जिनियरिङ कम्पनीमा काम गर्ने क्रममा मेसिनले हात किचिएपछि उनी अपांग भए। मेलेसिया पुगेर काममा लागेको दुई महिनामा हात गुमाउनु परेको उनले बताए। गरिखाने हात गुम्दा उनलाई अत्यधिक पीडा भयो। हात गुमे पनि आत्मबल उस्तै थियो। केही गर्ने अठोटकै कारण उनी अहिले सफल उद्यमी बनेका छन्। बाँस फर्निचर उद्योग सञ्चालन गरेर बाँस्कोटाले राम्रो आम्दानी गर्दै आएका छन्।

हात गुमाएर घर फर्किएपछि उनलाई बाँसबाट सामग्री बनाउन सक्छु भन्ने हिम्मत आयो। बाँस्कोटाका अनुसार २०६७ सालमा घरेलु तथा साना उद्योगले बाँसका सामग्री बनाउने तालिम आयोजना गरेको थियो। तालिममा सहभागी हुन उनले आवेदन दिए। तर, उनलाई छनोट गरिएन। हातको पञ्जा नभएकाले बाँसका सामग्री बनाउन नसक्ने ठहर गर्दै उनलाई तालिमबाट बञ्चित गरियो। ‘सहभागी हुन नपाएपछि मैले आफैं सामग्री बनाउने प्रयत्न गरेँ’, बाँस्कोटाले भने, ‘मेरो प्रयत्न अहिले सार्थक भएको छ। बाँसका सामग्री राम्ररी बनाउँछु। बिक्री गरेर राम्रो कमाई गरिरहेको छु।’

 

तालिम लिन नपाए पनि कागजमा चित्र कोर्ने त्यसैका आधारमा बाँसका सामान बनाउन थाले उनले। सुरुमा उनले बाँसको भाटाबाट आल्ना बनाएका थिए। पहिलो आल्ना बनाउन पाँच दिन लागेको उनी सुनाउँछन्। ‘सात सय रुपैयाँ खर्चिएर तयार पारेको पहिलो आल्ना एक सय ६० रुपैयाँमा बिक्री गरेँ’, उनले भने ‘मैले बनाएको पहिलो सामान बिक्री भएपछि थप प्रेरणा मिल्यो।’ मेहनत गरेर बनाएको सामान बिक्री भएपछि काममा जाँगर चलेको उनी बताउँछन्।

 

सामान राम्ररी बनाउन जान्ने भएपछि उनले ‘रचना बाँस फर्निचर उद्योग’ दर्ता गरे। उनको यो फर्निचर उद्योगबाट एक सय प्रकारका बाँसबाट निर्मित सामान बनाइन्छ। सबै सामग्री उनी आफैं बनाउँछन्। बाँसबाट ह्यांगर, टेबल, ¥याक, पलङ, कोक्रो, सुज ¥याक, डाइनिङ टेबल, टी टेबललगायत सजावटका सामग्री बनाउने गरेका हुन्। ‘१० दिनमा एउटा पलङ बनाउँछु’, उनी भन्छन्, ‘एउटा पलङ २० हजार रुपैयाँ सम्ममा बिक्री गर्छु।’

 

उनी बाँसका फर्निचर बनाउन दिनभर तल्लीन हुन्छन्। आफ्नो काममा निखारता ल्याउन उनले नयाँ डिजाइनका सामान तयार गर्ने गर्छन्। फर्निचर बिक्री गरेर महिनामा ३० हजारभन्दा धेरै फाइदा हुने उनले सुनाए। ‘मेरो हात नभएर के भो र ? ’, उनी भन्छन्, ‘मैले जति सपांगले कमाउँदैनन्।’ आफ्नो कामबाट घण्टामा एक सय रुपैयाँ निकाल्ने उनको हिसाब छ।

 

बाँस्कोटाले फिदिम बजारको शनिबारे हटियामा लगेर सामान बिक्री गर्छन्। पाँचथरसहित इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम हुँदै काठमाडौंसम्म आफूले बनाएका सामान पठाउने गरेको उनी बताउँछन्। ‘धेरै टाढा टाढाबाट पनि मैले बनाएको सामानको माग हुन्छ’, उनले भने, ‘मेरो कामले मलाई पनि चिनायो, दाम पनि दियो।’

 

घरेलु तथा साना उद्योगले बाँस्कोटालाई अहिले प्रशिक्षकको रूपमा लिएको छ। बाँसका सामग्री बनाउने तालिम दिनुपरे बाँस्कोटालाई प्रशिक्षक बनाउन थालिएको हो। ‘घरेलुले मलाई पत्याएको थिएनँ’, उनले भने, ‘मेरो काम देखेपछि अहिले मलाई प्रशिक्षक बनाएको छ।’ बाँस्कोटाले २०७२ सालदेखि प्रशिक्षक भएर काम गर्दै आएका छन्। पाँचथरसहित झापा, इलाम, तेह्रथुम र ताप्लेजुङ गरी उनले ५६ ठाँउमा तालिम दिइसकेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024