यूएईमा नेपालीलाई जेल र दुई लाख दिराम जरिवाना

9 October, 2018

यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो ।

सर्वोच्चको पूर्ण इजालासले हालै फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए । काम लगाउँदा विवाद बढेपछि जोशीले फिलिपिनोमाथि चक्कु प्रहार गरी हत्या गरेको विवरण फैसलामा उल्लेख छ,’ यूएईका लागि कार्यवाहक राजदूत सागर फुयालले भने, ‘जोशीले समेत हत्या गरेको अदालतमा स्वीकार गरेका छन् ।’

सबै किसिमको अनुसन्धानबाट हत्या नै भएको रिपोर्ट तयार भएको फुयालले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024