दैनिक लाखौं भारु भित्रिँदै

4 October, 2018

दैनिक २ हजार नेपाली रूपैडिहा नाका हुँदै स्वदेश फिर्ता

चाडपर्व नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीमार्फत दैनिक लाखौं भारतीय रुपैयाँ (भारु) मुलुक भित्रिन थालेको छ । हाल नेपालगन्ज नाका भएर घर फर्किनेहरूको लर्काे छ । सातायता नेपालीहरू घर फर्किने क्रम बढेको हो ।

भारतमा मजदुरीका लागि गएका नेपालीहरू दैनिक करिब २ हजारभन्दा बढी फर्किरहेको सीमास्थित प्रहरीले जनाएको छ ।

खेतीपातीको काम सकिएपछि मध्यपश्चिम क्षेत्रका युवाहरू पैसा कमाउन भारत जाने गर्छन् । ३/४ महिना भारतमा मजदुरी गरी घर फर्किने १ जनाले १५ देखि ४० हजार भारुसम्म ल्याउने गरेको बताउँछन् । राम्रो काम पाएकाले त्यसभन्दा बढी कमाएर आउने गरेका छन् । कतिपय नेपाली चाडपर्वमा हुने खर्चको जोहो गर्नैका लागि भारत जाने गरेका छन् ।

‘खेतीको काम सकिएपछि हरेक वर्ष मजदुरीका लागि भारत जान्छौं । २/४ महिना काम गरी घर फर्किन्छौं,’ रुकुमका दिलबहादुर खड्काले भने, ‘काम राम्रो पाइए ३०/४० हजार भारु पनि कमाइ हुन्छ । होइन भने १५/२० हजार भारु लिएर घर फर्किन्छौं ।’ हरेक वर्ष पैसा कमाउन भारत जाने र चाडपर्वको मुखमा फर्किने गरेको उनले बताए । उनीसँगै गाउँका दर्जनौं युवा नेपालगन्ज हुँदै घर फर्किएका छन् ।

खड्काका अनुसार १ जनाले कम्तीमा १५ हजार भारु बोकेर आउँदा दैनिक २ हजार नेपालीले ३ करोड भारु नेपाल ल्याइरहेका छन् । नेपालगन्ज नाकाबाट प्रदेश ५ र कर्णाली प्रदेशका हजारौं नेपाली काम खोज्दै भारत जाने गरेका छन् । सहजै भारत जान सकिने भएका कारण यस क्षेत्रका नेपाली कामको खोजीमा भारत जाने गर्छन् ।

सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई शिव वलीका अनुसार चाडपर्वको मुखमा नेपाली धमाधम घर फर्किरहेको छन् । बिहानका बेला थामिनसक्नु गरी सीमामा नेपालीको भीड लाग्ने गरेको उनले सुनाए । ‘घर फर्किनेहरूको भीड बढेको छ । पैसा कति हुन्छ भनेर जाँच गर्न मिल्दैन । तर, अनौपचारिक सोध्दा १५ देखि ४० हजार रुपैयाँसम्म कमाइ भएको सुनाउँछन्,’ उनले भने, ‘चाडपर्वका लागि कमाएर ल्याएको पैसा लुटपाट हुन नदिन सुरक्षा दिएका छौं ।’

खेतीपातीको कामपछि गाउँहरू युवाविहीन हुने गरेका छन् । तर, चाडपर्वका बेला भने गाउँ भरिने गरेको छ । युवाहरू घर फर्किन थालेपछि गाउँमा रौनक बढ्न थालेको छ । जाजरकोटका अमर परियार चाडपर्व मनाउन घर फर्किएका छन् । उनले यसपल्ट राम्रो कमाइ भएको सुनाए । ‘काम राम्रो मिलेपछि पैसा पनि राम्रै कमाइयो । चाडपर्व राम्रै गरी मनाउने विचार छ,’ उनले भने, ‘हाम्रा गाउँका सबैजसोले १५ हजारभन्दा बढी नै कमाएका छन् ।’

नेपालीहरू घर फर्किन थालेपछि भारतीय रूपैयाँ पाउने प्रलोभनमा केही होटल व्यवसायी सीमास्थित रूपैडिहासम्म पुग्न थालेका छन् । पुष्पलाल चोक आसपासका होटल व्यवसायी घर फर्किरहेकाहरूलाई लिन रिक्सा लिएर त्यहाँसम्म जाने गरेका हुन् । उनीहरूले होटलमा बास बसाउने र भारु पाउने प्रलोभनमा त्यस्तो गर्ने गरेका हुन् । नेपालगन्जमा भारुको जहिले पनि अभाव हुने गरेको छ । भारु सय पाउन नेपाली १ सय ७० रुपैयाँसम्म तिर्न बाध्य छन् । सयकडा १० रुपैयाँ कमिसन पाइने भएका कारण भारतबाट फर्किने नेपालीलाई लिन होटल व्यवसायी रूपैडिहासम्म पुग्ने गरेका हुन् । प्रहरीले भने ठगीमा पर्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाएको छ । स्थानीय प्रशासनले नेपाल–भारत सीमा जमुनाहामा हेल्प डेस्क राखेको छ । भारतबाट घर फर्किने नेपालीलाई लुटपाटबाट जोगाउन र ठगीमा पर्न नदिन हेल्प डेक्स राखिएको हो । नेपाल–भारत आउजाउ गर्ने सर्वसाधारणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेल्प डेस्क राखेका हुन् । नेपालीको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीसँग पनि छलफल गरिएको छ ।

गाउँमा रोजगारी नभएको भन्दै कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुमका युवा बढीजसो भारत जाने गरेका छन् । त्यस्तै, प्रदेश ५ का बर्दिया, बाँकेलगायतका युवा पनि कामको खोजीमा भारत जाने गर्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024