आमाको मुख हेर्ने दिन अर्थात् २६ वैशाख २०८१, बुधबार साँझ रुसबाट शंकर खड्काले कटारी, उदयपुरकी इन्दु मगरलाई फोनमा भने, ‘भाउजू, दाइ लडाइँमा बित्नुभयो । हामीसँगै फ्रन्टलाइनमा जानुभएको थियो ।’
३९ वर्षीय श्रीमान् ओमबहादुरसँग ११ दिनअघि उनको सम्पर्क भएको थियो । ओमबहादुरले लडाइँमा जाने बेला इन्दुलाई फोनमा भनेका थिए, ‘म ७ दिनका लागि लडाइँमा जाँदै छु, फर्केपछि सम्पर्क गर्नेछु ।’
आठौं दिन बित्दा पनि फोन नआएपछि इन्दुले श्रीमान्को खबर बुझ्न शंकरलाई ‘भ्वाइस म्यासेज’ छाडेकी थिइन् । त्यसको तीन दिनपछि खड्काले फोनमा दुःखद खबर सुनाए । ‘मैदानमा हामीसँगै हिँडेका थियौं, दाइ अचानक ढल्नुभयो, उहाँको शव ल्याउने सम्भावना छैन, तपाईंहरूले धर्मकर्मअनुसार काजकिरिया गर्नुहोला,’ शंकरले रुसबाट इन्दुलाई भने । त्यही खबर इन्दुका जेठाजु र देवरलाई पनि सुनाए । शव नदेखे पनि सूचनाका भरमा इन्दुका आफन्तले काजकिरिया गरे ।
रुसी सेनामा भर्ती भएका ओमबहादुर युक्रेनविरुद्धको युद्धको अग्रमोर्चा (फ्रन्टलाइन) मा गएको यो दोस्रो पटक थियो । त्यसअघि पहिलो पटक जाँदा १५ दिनका लागि खटिएका थिए । त्यतिबेला तीन दिनमै रेस्ट क्याम्पमा सकशुल फर्किएका थिए । पहिलो पटक जाँदा ओमबहादुरका ४ नेपाली साथीको युद्धमोर्चामै ज्यान गएको थियो ।
‘सँगै चार जना नेपाली र एक जना रसियन मारिए, म बल्लतल्ल बाँचेर आएँ,’ त्यतिबेला ओमले इन्दुलाई फोनमा यसो पनि भनेका थिए, ‘अब म यहाँ बस्न सक्तिनँ । मलाई निकाल । यहाँबाट भागेर आउनुपर्छ । पैसा लाग्छ । ऋण खोज ।’
नेपाली सेनामा १४ वर्ष बिताएर बीचमै जागिर छाडेर घरमै बसिरहेका थिए, ओमबहादुर । रुस जाने भनेपछि इन्दुले ऋण खोजेकी थिइन् । ओमबहादुरलाई रुस पठाउँदा परिवारमाथि ९ लाख रुपैयाँको ऋणभार थपिएको थियो । इन्दुले त्यसअघि पनि श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाउन भन्दै ६ लाख रुपैयाँ
ऋण लिएकी थिइन् । तर, दलालले खाइदिए । ओमबहादुर विदेश जान पाएनन्, परिवारमाथि ऋणको भार मात्र बढ्यो । रुसमा कमाइ राम्रो हुन्छ भन्ने सुनेपछि इन्दुले श्रीमान्का लागि पहिलेको ऋण हुँदाहुँदै पनि थप ९ लाख ऋण खोजिन् । र, ओमबहादुर दलाललाई पैसा बुझाएर ०८० कात्तिक ४ मा रुसतर्फ उडे ।
दलालले रुसी सेनामा सरसफाइको काम गर्नुपर्छ भनेका थिए । तर, गएदेखि नै उनलाई रकेटलगायतका हतियार चलाउन लगाइयो । श्रीमान्को कमाइ पर्खेर बसेकी इन्दुले श्रीमान्को जीवन रक्षाका लागि थप ऋण खोज्नुपर्ने अवस्था आइलाग्यो ।
‘हामीसँग पुरानो ऋण बाँकी नै थियो । उहाँलाई निकाल्न थप ऋण खोजियो । युद्ध मैदानको जंगलबाट उद्धार गर्न कसलाई कसरी पैसा पठाउने भन्ने मेसो नै पाइरहेका थिएनौं,’ उनले भनिन्, ‘अलमलमा परिरहेका बेला रुसबाट उहाँले जंगलबाट निस्कने चान्स छैन, कसैलाई पनि पैसा नपठाऊ भन्नुभयो ।’
ओमबहादुरको समूहमा रहेका ५ जना नेपाली ज्यान जोगाउन क्याम्पबाट भागेकाहरू बीच बाटोबाटै पक्राउ परेका थिए । त्यसपछि ओमबहादुरहरू थप निगरानीमा परेका थिए । उनीहरूसँग भएका हतियार कमान्डरले खोसेर राखेका थिए । त्यसको केही दिनपछि उनीहरूलाई जंगलमा बंकर खन्ने र ड्रोनको निगरानीमा राखिएको थियो ।
‘जंगलमा हामी थोरै बस्छौं । जमिनमुनि गहिरो बंकर खन्नुपर्छ । हामी यसमै बस्छौं । ड्रोनबाट जोगिनुपर्छ,’ उनले भने, ‘फ्रन्टलाइनमा भए पनि युद्ध नै लड्न भने जानु पर्दैन । पहिलाभन्दा यो अलि बढी सुरक्षित देखिन्छ ।’
त्यसरी नै बसेको ५ महिनापछि ओमबहादुरले ५ लाख रुपैयाँ पठाए । गत फागुनमा छोरो एक वर्ष पुगेको थियो । छोराको जन्मदिन मनाउन थप पैसा पनि पठाइदिए । जंगलको बंकरमा ड्युटी हुँदासमेत इन्दु र ओमबहादुरबीच हरेक दिनजसो सम्पर्क भइरहन्थ्यो । वैशाख दोस्रो साता दोस्रो पटक ‘फ्रन्टलाइन’ मा गएका ओमबहादुर त्यसपछि भने फर्केर आएनन् । उनीहरूबीच सधैंका लागि सम्पर्क टुट्यो ।
‘मसँग काजकिरिया गर्ने पैसा पनि भएन, आमाजूहरूले हालिदिनुभयो । हाम्रो आर्थिक अवस्थाबारे उहाँका साथीहरूलाई पनि थाहा रहेछ, उहाँहरूले रुसबाट पनि केही सहयोग पठाइदिनुभयो,’ इन्दुले भनिन्, ‘अब के गर्ने ? कसो गर्ने थाहा थिएन । काठमाडौंमा रुसी सेनाको परिवारलाई सहजीकरण गर्दै आउनुभएकी कृतु भण्डारीलाई भेट्न गएँ । त्यसपछि आफूसँग भएको कागजात राखेर कन्सुलर विभागमा बेपत्ता श्रीमान्को अवस्था पत्ता लगाइदिन भन्दै निवेदन दिए । शव नदेखेसम्म मान्छे जिउँदो नै छ कि भन्ने आस हुँदो रहेछ ।’
कमाउन गएका ओमबहादुरको मृत्युपछि यता उदयपुरमा इन्दुलाई चुलो बाल्नै धौधौ छ । आफूसँगै चार छोरी र सानो काखे छोराको दुई छाक टार्न नै कष्ट छ । ओमबहादुरले पैसा पठाइन्जेल चारै छोरी स्कुल गइरहेका थिए । १५ बर्षकी ठूली छोरी कक्षा ८, १३ वर्षकी छोरी कक्षा ७, ११ वर्षकी कान्छी छोरी कक्षा ५ मा पढ्दै थिए । घरखर्च धान्नै गाह्रो भएपछि ठूली छोरीलाई स्कुल छुटाएर कमाउनका लागि आफन्तको साथ लगाएर भारत पठाएकी छन् । ओमबहादुरको मृत्यु खबर आएपछि ऋण र ब्याज माग्दै साहूहरू घरमै धाउन थालेका छन् ।
‘साहुहरू सधैं ऋण र ब्याज माग्दै दैलो धाइरहेका छन् । तिर्न सक्ने अवस्था छैन, तनाबै तनाब छ । ठूली छोरीको पढाइलाई पनि निरन्तरता दिन सकिएन,’ उनले भनिन्, ‘अहिले ठूली छोरी कमाउन भारत गएकी छन् । भारतमा घरको काम गर्न थालेकी छ । माइली छोरी नाम निकालेर गाईघाटमा फुटबल खेल्छिन् । कान्छीलाई बोर्डिङले पढाउन सहयोग गरेको छ । स्कुललाई रुसबाट क्षतिपूर्ति आएपछि पैसा तिर्छु भनेकी छु ।’
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका ओमबहादुरसहित ४९ नेपालीको मृत्यु पुष्टि भएको छ । ५७ जनाको शव पहिचान गर्न डीएनए परीक्षण प्रक्रियामा छ । सम्पर्कविहीन ११८ जनाका परिवारले खोजीका लागि कन्सुलर विभागमा निवेदन दिएका छन् ।
रुसमा साढे दुईवर्षे कार्यकाल बिताएर फर्किएका पूर्वनेपाली राजदूत मिलनराज तुलाधर करारअनुसार रुसी सेनासरह नै नेपालीले पनि क्षतिपूर्ति पाउने बताउँछन् । ‘रुसले क्षतिपूर्ति दिन्छु भनेर चिठी नै लेखेको छ, त्यो विषय करार पत्रमा लेखिएको छ । कतिपयले करारपत्रमा क्षतिपूर्ति पाउन इच्छाइएका हकदारको नामसमेत लेखेका छन्, कतिपयले लेखेका छैनन् । भए–नभए पनि हकदारले दाबी गर्न पाउनेछन्,’ उनले भने, ‘गत असारमै ६ जनाको हकमा पैसा लिन आउनु भनिसकेको थियो । पैसा लिई पठाउने बिषयमा केही प्राविधिक समस्या थपियो । यसैअनुसार बाँकीको पनि क्षतिपूर्ति दिने कुरा भएको थियो ।’
नेपालले रुसलाई मृतकका हकदारले पाउने क्षतिपूर्ति दूतावासको खातामा जम्मा गरिदिन आग्रह गरेको छ । ‘क्षतिपूर्ति रकम दूतावासको खातामा ल्याउने, त्यो रकम नेपाल पठाइदिने र सम्बन्धित जिल्लाबाट पीडित परिवारको बैंक खातामा हस्तान्तरण गर्ने योजना बनायौं, यसैअनुसार रकम पठाइदिन रुसलाई आग्रह गर्यौं,’ उनले भने, ‘तर यसमा केही प्राविधिक समस्या देखापरेको छ, रुसबाट नेपाल पठाउन बैंकको ‘स्विफ्ट सिस्टम’ चल्दैन । उनीहरूले रुवेलमा दिन्छन् । त्यो डलरमा साट्न मिल्छ । रुसमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी भएकाले बैंकबाट पैसा पठाउन समस्या देखिएको हो ।’
पूर्वराजदूत तुलाधरले क्षतिपूर्ति प्रक्रिया सकेसम्म दूतावासमार्फत अगाडि बढाउनुपर्ने बताए । ‘हकवाला स्वयं रुसमा गयो भने पनि पैसा दिन्छ । क्षतिपूर्ति पाउने समय अलि अगाडि पछाडि होला । तर क्षतिपूर्ति भने पाइन्छ । परिवार आफैं रुस गए पनि नगए पनि दूतावासको संलग्नता चाहिन्छ , सकेसम्म दूतावासमार्फत नै गर्नुपर्छ,’ उनले भने ।
इन्दु भने रुसबाट क्षतिपूर्ति पाउने/नपाउनेमा ढुक्क छैनन् । वैशाखमै श्रीमान् ढलेको खबर पाएकी इन्दुले त्यसको आधिकारिक जानकारी गत पुसमा मात्र पाइन् । ‘मान्छे मरेको आधिकारिक खबर आउन त ९ महिना लाग्यो, क्षतिपूर्ति कहिले पाउने हो ?,’ उनले भनिन्, ‘हाम्रो त अबको साहरा नै क्षतिपूर्ति हो । जति छिटो आइदिए हामीलाई राहत हुन्थ्यो । क्षतिपूर्ति आइदिए भारत गएकी छोरीलाई घर ल्याउनु हुन्थ्यो । छोरीहरूको पढाइले निरन्तरता पाउँथ्यो । भर्खरै बामे सर्दै गरेको छोराको भविष्य पनि बन्थ्यो ।’