श्रम रोजगारको क्षेत्रमा लेख्ने तीनजना पत्रकार पुरस्कृत

25 Sep, 2023

श्रम रोजगार पत्रकारिता पुरस्कार, २०८० बाट तीनजना पत्रकार पुरस्कृत भएका छन् । श्रम रोजगार पत्रकार समूहले प्रवासी नेपाली समन्वय समितिसँगको साझेदारीमा प्रदान गर्दै आएको सो पुरस्कार यस बर्ष काठमाडौंबाट कृष्ण सिंह धामी (रातोपाटी), जिल्लाबाट रुपा गहतराज (कान्तिपुर, नेपालगञ्ज तथा प्रवासबाट लक्ष्मण खनाल (नयाँ पत्रिका, युएई) लाई प्रदान गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पुरस्कृत पत्रकारहरुलाई पुरस्कार हस्तान्तरण गरे । यस बर्षदेखि समूहले तीनवटा क्लष्टर निर्माण गरी काठमाडौं, जिल्ला तथा प्रवास गरी तीन विधामा एक एकजनालाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृतहरुलाई प्रमाणपत्र तथा जनही रु. २० हजार प्रदान गरिएको हो ।

पुरस्कार हस्तान्तरण समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै श्रममन्त्री भण्डारीले सरकारले श्रम नीति परिवर्तनको काम गरिरहेको बताए । उनले नितिगत परिवर्तका क्षेत्रमा महत्वपूर्ण काम मन्त्रालयले गरिरहेको भन्दै हालै विभिन्न मुलुकमा कार्यरत राजदूतहरुलाई निम्त्याएर गरिएको छलफलले वैदेशिक रोजगारको क्षेत्रमा केहि बर्षयता देखिएका समस्या समाधानको आधार तयार पार्ने अपेक्षा प्रकट गरे ।

वैदेशिक रोजगारमा जानेहरु चर्को आर्थिक शोषणमा परिरहेको भन्दै मन्त्री भण्डारीले सही सुचना गाउँसम्म नपुग्नु एउटा समस्या भएको बताए । उनले यसलाई चिर्न विदेशबाट आउने मागको जानकारी स्थानीय वडाहरुसम्म नै पुर्याउने वातावरण बनाउन लागिपरेको बताए । उनले पालिकाहरुमा नै स्थानीय व्यक्तिले सार्वजनिक सुचनाका माध्यमबाट जानकारी पाएमा हाल भइरहेको ठगि नियन्त्रणमा काम गर्न सकिने आशा प्रकट गरे ।

सो अवसरमा बोल्दै महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले महिलालाई वैदेशिक रोजगारमा जान लाग्दै आएको बन्देज सही नभएको बताइन् । उनले बन्देजकै कारण रोजगारीमा जानु पर्ने बाध्यमा रहेका महिलाहरु तस्करीमा परिरहेको तर्फ सरकारको ध्यानकर्षण गराइन् । उनले महिलाले सामाजिक, आर्थिक जिम्मेवारीका बिच गरिरहेको कामको चर्चा गर्दै महिलाको रोजगारीमा संलग्नतालाई सहज बनाउनु पर्ने धारणा राखिन् ।

सो अवसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि बहादुर थापा, पुरस्कार छनौट समितिकी सदस्य चाँदनी राना, श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनील न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा प्रवासी नेपाली समन्वय समितिले सेस्लमसँगको साझेदारीमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुका साथै सोही विषयमा आधारित रहेर छलफल पनि सञ्चालन गरिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024