दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन

2 Jan, 2025

नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो।

स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।

इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपालीहरू पक्राउ परेको पुष्टि गरे।

त्यहाँको अध्यागमन प्रहरीले नेपालीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ती नेपालीको भनाइ छ। ‘अन्य केही नेपालीहरू पनि पक्राउ परेका छन्। उनीहरूमाथि समेत कोरियाली अध्यागमनले अनुसन्धान गरिरहेको छ,’ अन्नपूर्णसँग उनले भने।

यसअघि पनि दक्षिण कोरियाले ६ जना नेपालीलाई निष्कासन गरेको थियो। गत मंसिरको पहिलो साता अध्यागमन कानुन उल्लंघन गर्ने लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ निकालिएका थिए।

पछिल्लो समय दक्षिण कोरिया सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। अध्यागमन कानुन विपरीत विदेशी कामदारहरू प्रवेश हुने क्रम नरोकिएपछि दक्षिण कोरिया सरकारले कडाइ गरेको हो। इपीएसमार्फत दक्षिण कोरियामा हजारौं नेपाली कामदार कार्यरत छन्। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024