विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सांसदको माग

13 May, 2025

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै उनीहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गरे । उनले विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराए ।

वैदेशिक रोजगारीमा जाने नेपाली निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न माग गरे ।

कांग्रेस सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गरिन् । सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने उनले धारणा राखिन् । जुम्लाको गुठीचौरमा अवरुद्ध विद्युत् आपूर्ति नहुँदा स्थानीयले भोग्नुपरेको सास्तीतर्फ सरकारको ध्यानार्कषण गराइन् ।

नेपाली कांगेसका सांसद रामकृष्ण यादवले धनुषा जिल्लास्थित कमला नगरपालिका–५ मा आगलागीबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र पीडितको पुनःस्थापनाका लागि माग गरे ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024