काठमाडौँ — वैदेशिक रोजगारमा झन्डै ८३ लाख रुपैयाँ ठगी फरार बाँकेका कमल विश्वकर्मालाई संयुक्त अरव इमिरेट्स (युएई)को दुबईमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले दुबईमा पक्राउ गरी काठमाडौं ल्याएको हो ।
उनलाई वैदेशिक रोजगार न्यायधिकरणले ठगी गरेको अभियोगमा ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । विभागले खजुरा गाउँपालिका–६ सिमलघारी, बाँकेका विश्वकर्मा विरुद्ध गत भदौ १५ गते पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, ईन्टरपोल शाखालाई पत्राचार गरेको थियो ।
ईन्टरपोल शाखाले अन्तराष्ट्रिय स्तरमा रेड नोटिस जारी गरी युएई प्रहरीसँग समन्वय गरी बैशाख १२ गते काठमाडौं ल्याइएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार विश्वकर्माले दुबईमा भिआई सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै १८ जनासँग ठगी गरेका थिए ।
उनले मासिक एकलाख रुपैयाँ कमाइ हुने भन्दै १८ जनासँग कम्तिमा ८ लाख रुपैयाँको दरले रकम लिएका थिए । भिजिट भिसामा दुवई पुर्याइएका उनीहरुलाई काममा लगाउन सकेका थिएनन् ।