६ महिना ‘डंकी यात्रा’ गरेर अमेरिका पुगेका थिए ९ नेपाली, छिर्न नपाउँदै नेपाल ‘डिपोर्ट’ !

6 Mar, 2025

Biken Kumar Dawadi

सपना थियो- अमेरिका छिर्ने, राम्रो जीवन बनाउने। त्यसैले हिम्मत जुटाए, ऋण खोजे, घरजग्गा धितो राखे अनि निस्किए अनिश्चित यात्रामा। नेपालबाट कानुनी रुपमै अमेरिका पुग्न सक्ने माध्यम उनीहरूसँग बाँकी थिएन। त्यसैले रोजे ‘डंकी मार्ग’ अर्थात् तल्लो बाटो।

तर, दुर्भाग्य ! ६ महिनासम्म हजारौं किलोमिटर पार गरेर अमेरिका पुगेका उनीहरू सीमामा पाइला टेक्न नपाउँदै पक्राउ परे। पहिलो दिन नै हिरासतमा पुर्‍याइए। जेलको अँध्यारो पर्खालभित्र कैयौँ महिना बिताउनुपर्‍यो। अमेरिका प्रवेशको सपना त परै जाओस्, अमेरिकी भूमिको दृश्य समेत राम्रोसँग देख्न पाएनन्।

‘डंकी मार्ग’ रोज्ने ९ नेपालीमध्ये सात पुरुष र दुई महिला थिए। उनीहरूका लागि यो यात्रा सहज थिएन- कहिले जङ्गलभित्र भोकै, कहिले नदीमा डुब्दै, कहिले अजिङ्गर र बाघको डर ! कोलम्बिया–पनामा सीमा क्षेत्रमा पर्ने कुख्यात डेरियन ग्याप पार गर्न मात्रै हप्तौँ लाग्यो।

तर, अमेरिकी सीमामा पुगेको पहिलो दिन नै सीमा सुरक्षा अधिकारीहरूले उनीहरू नियन्त्रणमा लिए। त्यहाँ उनीहरुलाई ५ देखि ९ महिना हिरासतमा राखेपछि बुधबार नेपाल फिर्ता पठाइयो।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एएचटीबी) का अनुसार पक्राउ परेकामध्ये सात पुरुष र एक महिलालाई चार्टर्ड उडानमार्फत् र बाँकी एक महिलालाई व्यावसायिक उडानमार्फत् नेपाल फर्काइएको हो।

प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार डिपोर्ट गरिएकाहरूले अमेरिका प्रवेशका लागि ‘एजेन्ट’ भनिने मानव तस्करलाई ४० देखि ७० लाख रुपैयाँसम्म बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, उनीहरु कसैले पनि एजेन्टको नाम सार्वजनिक गर्न मानेका छैनन्। ‘एक पूर्वसमझदारीका कारण वा डरले उनीहरूले एजेन्टको पहिचान खुलाएका छैनन्,’ एसपी कुँवरले नागरिक न्युजसँग भने।

एसपी कुँवरका अनुसार डिपोर्ट गरिएकाहरूको सबै अवैध रूपमा अमेरिका छिर्न खोज्नेहरू थिए। उनीहरूलाई ट्रम्प सरकारले नभई बाइडेन सरकारकै पालामा नियन्त्रणमा लिइएको हो। उनले भने, ‘तर ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका कारण उनीहरूको छिटो डिपोर्ट भएको हुनसक्छ।’

नेपाल फर्काइएका नौ जनालाई सोधपुछपछि परिवारको जिम्मा लगाइएको एएचटीबीले जनाएको छ।

डेरियन ग्याप पार गरेर अमेरिका प्रवेश गर्ने क्रममा सन् २०२१ यता मात्रै १३० भन्दा बढी आप्रवासीले ज्यान गुमाइसकेको तथ्याङ्क छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024