६१५ नेपाली साउदी कारागारमा

9 Apr, 2024

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ सय १५ नेपाली कारागारमा छन् । विभिन्न मितिमा पक्राउ परेका नेपालीको यो तथ्यांक साउदी प्रशासनले नेपाली राजदूतावासलाई उपलब्ध गराएको हो ।

कारागारमा रहेकामध्ये धेरै मदिरासँग सम्बन्धित आरोपमा पक्राउ परेका छन् । अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण र ओसारपासार गरेको आरोपमा तीन सय ७८ नेपाली पक्राउ परेका छन् । त्यस्तै, एक सय ३३ नेपाली लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको तथ्यांक दूतावासले पाएको छ ।पाँच नेपालीमाथि हत्याको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । फैसला हुन नसक्दा उनीहरू पुर्पक्षका लागि कारागारमा छन् । त्यसबाहेक ११ नेपालीमाथि घुस लिएको, सातजनामाथि कुटपिटमा संलग्न भएको, चारजना अनैतिक क्रियाकलापमा संलग्न रहेको, ६ जना राहदानीसम्बन्धी समस्यामा, २० जना बेइमानी गरेको, १८ जना चोरी र तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

साउदी अरबमा खुला रूपमा मदिरा उत्पादन, बिक्री–वितरणमा रोक छ । दुई महिनाअघि साउदीले राजधानी रियादमा कूटनीतिक क्षेत्रका अधिकारीलाई लक्षित गरी मदिराको पसल सञ्चालनमा ल्याए पनि खुला बिक्री गर्न पाइँदैन ।

रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले मदिरा बनाउने, बेच्ने, सेवन गर्ने गरेको सूचना दूतावासमा पनि प्राप्त भएको बताए । ‘हामीले सचेतना अभियान थालेका छौँ,’ उनले भने, ‘त्यसका बाबजुद कतिपय गैरकानुनी काममा लागेपछि पक्राउ पर्ने गर्छन् ।’ कारागारमा रहेकामध्ये रमजानको अवसरमा रिहाइ गर्न मिल्नेलाई रिहाइ गरिदिन साउदी सरकारलाई अनुरोध गरिएको गिरीले बताए ।

साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले कतिपय नेपालीले तोकिएको सजाय भुक्तान गरे पनि रिहाइ हुन नसकेको र कतिपयको मुद्दा अदालतसम्म नपुगेको बताए । ‘साउदीका जेलमा ६ सयभन्दा बढी नेपाली छन्,’ सुवेदीले भने, ‘हामीले साउदी मानव अधिकार आयोगका सभापति र साउदी महान्यायाधिवक्तालाई भेटेर स्वच्छ सुनुवाइका लागि अनुरोध गरिसकेका छौँ ।’

अदालतले तोकेभन्दा बढी समय जेल बसेर रिहाइ हुन नसकेका र हराइरहेकाको सूची साउदीको परराष्ट्र मन्त्रालयमार्फत रियादका गभर्नर, साउदी महान्यायाधिवक्ता र मानव अधिकार आयोगका सभापतिलाई भेटेर बुझाइएको उनले बताए । ‘उहाँहरूले छिट्टै यस विषयलाई समाधान गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने ।

राजदूत सुवेदीका अनुसार वैदेशिक रोजगारीमा आउनेका लागि साउदीमा भाषागत समस्या हुने भएकाले आधारभूत अरेबिक भाषाको ज्ञान र प्रशिक्षणको व्यवस्थाका लागि श्रम मन्त्रालयमा अनुरोध गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024