५० प्रतिशतले बढ्यो वैदेशिक रोजगार जीवन बिमा

6 Nov, 2024

ममता थापा

काठमाडौं : वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै बिमालेख संख्या पनि हात्तै बढेको छ। वर्ष दिनमै झन्डै आधा अर्थात् ४५.६८ प्रतिशतले बिमालेख वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानेका लागि सरकारले अनिवार्य बिमाको व्यवस्था गरेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ३ महिनासम्ममा वैदेशिक रोजगारमा जानेबाट २१ लाख ८६ हजार ५५७ बिमालेख संख्या जारी भएको छ। तर, गत आवको सोही अवधिमा आधाले कम अर्थात् १ लाख ५० लाख ९८३ बिमालेख जारी गरिएको थियो। जीवन बिमा, म्यादी र लघु म्यादीको बिमालेख भने घटेको छ।

पहिलो त्रैमासमा जीवन बिमालेख संख्या अघिल्लो सोही अवधिको तुलनामा १.२५ प्रतिशतले घटेर ५५ लाख ९० हजार १८६ मा सीमित भएको छ। जबकी अघिल्लो आवको सोही अवधिमा ५६ लाख ६१ हजार १०९ बिमालेख जारी भएको थियो। यस्तै, म्यादी र लघु म्यादी जीवन बिमालेख संख्या पनि वार्षिक १०.६७ प्रतिशतले घटेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको संख्या पनि बढेकाले बिमालेख संख्या बढेको नेपाल राष्ट्र बैंकको भदौसम्मको तथ्यांकले पनि पुष्टि गर्छ। गत भदौसम्ममा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको संख्या ७६ हजार ४८५ पुगेको छ। साथै पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार थियो।
३ महिनामा ७१ करोड ७८ लाख बिमाशुल्क संकलन

आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमाससम्ममा वैदेशिक रोजगार बिमालेखबाट मात्रै ७१ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको बिमाशुल्क संकलन भएको छ। यो कुल सक्रिय रहेको बिमालेखको हो। हाल यस्तो संख्या २१ लाख ८६ हजार ५५७ रहेको बिमा प्राधिकरणले बताएको छ। यद्यपि असोज महिनामा मात्रै ५३ हजार ३ सय ५५ जना वैदेशिक रोजगारीमा जानेले बिमा गरेर थपिएका छन्। जसबाट सो महिनामा मात्रैबिमा कम्पनीहरूले २२ करोड ५१ लाख ९१ हजार रुपैयाँ शुल्क संकलन गरेका छन्। यसको कुल बिमांक रकम ५३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ थियो। वैदेशिक

बिमाशुल्क संकलनमा सन नेपाल अगाडि

१४ जीवन बिमा कम्पनी र ३ लघु जीवन बिमा कम्पनीले वैदेशिक रोजगारमा जानेहरूको बिमा गर्न पाउँछन्। असोज मसान्तसम्ममा सबैभन्दा बढी बिमाशुल्क आर्जन गर्नेमा सन नेपाल लाइफ अगाडि छ। सबै कम्पनीले कुल ७१ करोड बढी बिमाशुल्क संकलन गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्सले ३२ करोड ९१ लाख ४१ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। सो कम्पनीले ३ महिनसम्ममा ७ लाख २९ हजार १७९ जना वैदेशिक रोजगारमा गएकाहरूको सक्रिय बिमालेखबाट सो रकम आर्जन गरेको हो।

यस्तै, दोस्रोमा बढी बिमाशुल्क आर्जन गर्नेमा एसियन लाइफ रहेको छ। यो कम्पनीले असोजसम्ममा ११ करोड ९३ लाख रुपैयाँ बराबरको बिमाशुल्क आर्जन गरेको छ। यस्को कुल सक्रिय बिमालेखको संख्या १ लाख ७ हजार २०५ रहेको छ।

यसैगरी, तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। सो कम्पनीले आवको ३ महिनासम्ममा ६ करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ। जसमा ५ लाख २२ हजार ३८८ जनाको सक्रिय बिमालेख रहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024