सुर्खेत — कोरोना महामारीअघिसम्म रोजगारीका लागि बर्सेनि चिनियाँ बजार ताक्लाकोट जाने गरेका हुम्ला नाम्खा गाउँपालिका–३ का छिरिङभुर्तेल लामा त्यसपछि लामो समय घरमै रहे । गाउँमा रोजगारीको भरपर्दो माध्यम नहुँदा उनी झन्डै ११ वर्षदेखि ताक्लाकोट जाने गरेका थिए । तर, कोरोना महामारीका कारण हिल्सा नाका बन्द भएपछि लामाको ताक्लाकोट जाने बाटो पनि बन्द भयो ।
‘ताक्लाकोटमा नेपालीले गर्ने काम भनेको भारी बोक्ने, गाडीमा सामान लोड–अनलोड गर्ने, सडक मर्मत गर्नेलगायत हो,’ उनले भने, ‘महिनामा डेढ लाखसम्म कमाइ हुन्छ, त्यसैले हामी हुम्लीका लागि रोजगारीको गन्तव्य नै ताक्लाकोट हो ।’ चीनले कोरोनाका कारण २०७६ चैतदेखि गत वर्ष वैशाखसम्म नाका बन्द गरेपछि रोजगारी रोकिएको थियो । हिल्सा नाका खुलेपछि जिल्ला प्रशासनबाट सीमा पास लिएर उनी ताक्लाकोट जाने तयारीमा छन् ।
सीमा पास पाउने भएपछि सिमकोट गाउँपालिका–६ का दीपकबहादुर रोकाया पनि खुसी छन् । ‘स्थानीयस्तरमा केही रोजगारी छैन, उता (ताक्लाकोट) गए ६ महिना काम गरे वर्षभरिका लागि खर्चको जोहो हुन्छ,’ उनले भने, ‘त्यहाँ सजिलै मजदुरी पाइने भएकाले हाम्रो जीपिकोपार्जनको भर नै ताक्लाकोट हो ।’ उनी पनि दशकअघिदेखि मजदुरीका लागि ताक्लाकोट जाने गरेका हुन् । उनी पनि अर्को साता चीन जाने तयारीमा छन् ।
२०८० वैशाख १८ मा चीनले हिल्सा नाका खोलेको हो । त्यसयता झन्डै ६ हजार स्थानीयले सीमा पास लिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । उनका अनुसार व्यवसाय र रोजगारीका लागि स्थानीयहरू हिल्सा नाका हुँदै ताक्लाकोट जाने गरेका छन् । ‘हामीले एक वर्षको अवधि राखेर व्यक्तिको फोटो र आवश्यक विवरणसहितको सीमा पास दिने गरेका छौं,’ उनले भने, ‘त्यसैका आधारमा उनीहरू चीन प्रवेश गर्छन् ।’ ताक्लाकोट हिल्सा नाकादेखि झन्डै ३० किमिको दूरीमा पर्छ । ताक्लाकोटमा नेपाली जडिबुटीको व्यापार पनि राम्रो छ ।
हुम्लावासी यार्सागुम्बु, फुरु, गुच्ची च्याउ, थाक्नालगायत जडिबुटी लिएर ताक्लाकोट बिक्रीका लागि जाने गरेका छन् । ‘यहाँका जडिबुटी काठमाडौं पुर्याउन अनावश्यक झन्झट व्यहोर्नुपर्छ, त्यसमाथि कर त्यस्तै चर्को,’ सिमकोटका व्यापारी कर्णबहादुर रावलले भने, ‘त्यसैले पनि काठमाडौंदेखि मुस्किलले व्यापारी आउने गर्छन्, आए पनि उनीहरूले जति भन्यो त्यति मूल्यमा जडिबुटी बेच्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार कोरोना महामारीअघिसम्म चीनमा ३० लाख रुपैयाँसम्ममा बिक्री भएको यार्सा गत वर्ष काठमाडौंमा २० लाखमा बिक्री गर्नुपरेको थियो ।
हुम्लाका बासिन्दा रोजगारीका लागि चीनबाहेक अन्य देशमा खासै जाने नगरेको सिमकोट गाउँपालिका–७ का पदम सिंहले बताए । ‘हाम्रा लागि रोजगारीको गन्तव्य चीन मात्र हो, त्यसमा पनि ताक्लाकोटमा सजिलै मजदुरी पाइन्छ,’ उनले भने, ‘नाका बन्द हुँदा त हाम्रो गाँस नै काटिएझैं भएको थियो, अब भने यहाँको गरिबी घट्ने र जीविकोपार्जन सहज हुने आशा छ ।’ उनका जेठा छोरा मानबहादुर दुई महिनाअघि नै रोजगारीका लागि ताक्लाकोट गइसकेका छन् । उनका अनुसार ताक्लाकोट गएका स्थानीय हिमपात सुरु हुनुअघि नै घर फर्किन्छन् ।
असोजपछि न्यालु, नारालगायत लेकमा बाक्लो हिउँ जमेर बाटो नै बन्द हुने गरेकाले ताक्लाकोट गएकाहरू त्यसअघि नै फर्किने गरेको सिंहले बताए । फागुनदेखि भदौसम्मको समय ताक्लाकोट जानका लागि उपयुक्त मानिन्छ । ‘त्यहाँ ३ महिना काम गर्दा पनि एक जनाले कम्तीमा ४ लाख रुपैयाँ कमाउँछन्, त्यसले घरखर्च चलाउन सजिलो हुन्छ,’ सिंहले भने, ‘काम पनि सजिलै पाइने र कमाइ पनि राम्रो हुने भएकाले यहाँका युवाले रोजगारीका लागि ताक्लाकोटलाई भरपर्दो गन्तव्य मान्छन् ।’
रोजगारी र उत्पादनको अभावका कारण हुम्लाको नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड गाउँपालिकाका बासिन्दाको रोजगारीको गन्तव्य ताक्लाकोट हुने गरेको छ । अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा गाउँमा वर्षभरिमा एक बाली उवा मात्र उत्पादन हुने नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । ‘यहाँ त ३ महिना खान पुग्ने परिवार हुनेखानेमा गनिन्छ, अधिकांश स्थानीयको आयआर्जनको मुख्य स्रोत पशुपालन र जडिबुटी संकलन हो,’ उनले भने, ‘धेरैले ताक्लाकोटको मजदुरीलाई नै जीविकोपार्जनको आधार बनाएका छन् ।’
स्थानीय प्रशासनले कोरोना महामारीअघिसम्म वार्षिक १० हजारलाई सीमा पास वितरण गर्दै आएको थियो । २०७६ मा हुम्लाबाट ९ हजार ५ सय ६४ स्थानीय ताक्लाकोट पुगेका थिए । त्यस्तै २०७५ मा ९ हजार ९ सय १० जना गएका थिए ।
नाका खुलेसँगै चीन सीमास्थित हिल्सा नाकामा चहलपहल बढिरहेको हिल्साका नाम्खा–५ का वडाध्यक्ष पाल्जोर लामाले बताए । उनका अनुसार नाकाबाट दैनिक ५० जनासम्म चीन गइरहेका छन् भने पर्यटकहरू पनि आउजाउ गर्न थालेपछि होटल व्यवसाय फस्टाएको छ । ‘अहिले चिनियाँ मार्गबाटै खाद्यान्न र दैनिक उपभोग्य सामान हुम्लातिर आउन थालेको छ,’ उनले भने, ‘कोरोनाका कारण ठप्प भएको पर्यटन व्यवसाय पनि तंग्रिन थालेको छ ।’ हिल्सामा झन्डै तीन दर्जन होटलहरू सञ्चालनमा छन् । चहलपहल बढेपछि अहिले सदरमुकाम सिमकोटबाट चिनियाँ सीमा हिल्सासम्म नियमित यातायातका साधन पनि सञ्चालन भइरहेको उनले जानकारी दिए ।
मानसरोवर–कैलाश रुट खुले हिल्साको आर्थिक गतिविधि थप बढ्ने वडा अध्यक्ष पाल्जोर बताउँछन् । कोरोना महामारीअघिसम्म मानसरोवर–कैलाश दर्शनका लागि बर्सेनि १० हजारसम्म भारतीय तीर्थयात्री आउने गरेका थिए । हिल्सा र ताक्लाकोट प्रवेश खुले पनि मानसरोवर–कैलाश रुट चीनले नखोलेकाले संघीय सरकारले यसका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।