२ करोड ५८ लाख ठगी गरी कन्सल्टेन्सी सञ्चालक फरार

12 Jun, 2023

काठमाडौं : संसद् भवनको छेउमै थियो कनेक्टियर बर्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेड। सञ्चालक हुन् अजित तामाङ र सागर कुमाल।

सयौं मानिसलाई विभिन्न देश पठाउने भन्दै २ करोड ५८ लाख ठगी गरी उनीहरू फरार रहेका छन्। बेलबारी–३ मोरङ घर भई हाल काठमाडौं बस्ने अजित र शिवगन्ज–३ झापा घर भई हाल काठमाडौंमा नै बस्ने सागर कुमालविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ।

वैदेशिक रोजगार विभागबाट गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्नका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा पत्राचारसमेत गरेको छ। करोडौं रुपैयाँ ठगी गरी फरार रहेका उनीहरू हालसम्म पक्राउ परेका छैनन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले ठूलो समूहलाई ठगी गरी फरार उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए।

अजित र सागरको म्यानेजरका रूपमा झापाकै कलादेवी सुवेदीले काम गर्थिन्। उनले नै विदेश जान आउने व्यक्तिहरूसँग कन्ट्याक गर्ने, सम्झौता गर्ने र पैसा बुझ्ने गर्थिन्। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंमा मुद्दा चलिरहेको छ। हाल उनी पुर्पक्षका लागि थुनामा छन्। उनलाई ३ वर्ष कैद र ७० लाख धरौटी तोकेको छ।

सामाजिक सञ्जालमा देखेको विज्ञापन पछ्याउँदै भवानी तिमल्सेना उक्त कन्सल्टेन्सी पुगिन्। साढे ५ लाख बुझाएपछि रोमानियाको भिसा लाग्छ भनेर ढुक्क भइन्। उनीजस्तै ९५ जना कोही रोमानिया, सर्बिया, माल्टा, पोर्चुगललगायतका देशमा जान भन्दै २ करोड ५८ लाख बुझाएका छन्। तिमल्सेना भन्छिन्, ‘यहाँ बसेर स्टेसनरी चलाउँदै थिए। आर्थिक मन्दीले पछिल्लो समय व्यापार कम हुन थाल्यो। विदेश गएर कमाउनु प¥यो भन्दै रोमानिया जाने प्रक्रियामा साढे ३ लाख डुब्यो। छोरी र ज्वाइँसहित १४ लाख जति हाम्रै परिवारको ठगी गरेका छन्।’

भवानीका अनुसार सागर र अजितको कल्सटेन्सीको अकाउन्टबाट पटक–पटक सामाजिक सञ्जालमा विज्ञापन सार्वजनिक गरेको थियो। जहाँ आकर्षक कमाइ हुने र सजिलै भिसा लाग्ने तथा भिसा आएपछि मात्रै पैसा बुझाउनु पर्ने बताइएको थियो।

पटक–पटकको प्रक्रियामा उनीहरूले करोडौं रुपैयाँ बुझाएका छन्। चैतको २७ गते फ्लाइट छ। उड्नका लागि तयारी गर्नुहोस् भन्दै पासपोर्टमा भिसासमेत लगाएका थिए। भवानी भन्छिन्, ‘करिब ३ महिनाको प्रक्रियामा अफिसमा बोलाएर भिसा आएको बताइएको थियो। पासपोर्टमा भिसा पनि लागेको थियो। श्रम गर्नु छ भन्दै पासपोर्ट हामीलाई दिएनन्। भिसा नै आएको देखेपछि थप रकम बुझाएर हामी घर गएका थियौं। फ्लाइट भनिएको दिन त कम्पनीका सबै कागजात लिएर सञ्चालकद्वय फरार भए।’ सजिलो गरी भिसा लाग्ने र आकर्षक कमाइ हुने भनेपछि भवानीसँगै उनका १३ जना आफन्तले पनि विदेश जाने प्रक्रिया चालेका थिए। तर, सबै जनालाई नै नक्कली भिसा देखाएर उनीहरूले ठगी गरेका हुन्।

रोमानिया जान भन्दै भवानी तिमल्सेनाले साढे ३ लाख, अस्मिता तिमल्सेनाले ५ लाख, सुवास भट्टले ४ लाख, अनु दुलालले ५ लाख, दिपेश उलकले ७ लाख, विमल श्रेष्ठले ७ लाख, आशिष श्रेष्ठले ७ लाख, अरुण थापाले ५ लाख, सुनील श्रेष्ठले ६ लाख, सञ्जय अधिकारीले ५ लाख, चुच्चेबहादुर तामाङले ७ लाख, टेकबहादुर मोक्तानले ७ लाख, सन्दीप चन्दले ७ लाख, धन मगरले ६.५ लाख, नमराज बान्तवा र पुण्य दमाईले ७–७ लाख, प्रकाश देवकोटाले सर्बिया जान भन्दै ७ लाख ३० हजार, भरत विकले ४ लाख बुझाएका छन्। यो समूहले विभिन्न व्यक्तिसँग ३ लाखदेखि १५ लाखसम्म उठाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024