१८ माघ, काठमाडौं । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको सुरुवाती र पछि जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।
१२ जनालाई फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । फरार रहनेमा ८ जना सरकारी कर्मचारी छन् ।
विमानस्थलमा अध्यागमन कार्यरत रहेर हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
अध्यागमन अधिकृत नरवीर खड्कालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालयले २६ कात्तिक २०८० मै पक्राउ गरेको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, नरवीर र ताराबहादुर कुँवरसँग सेटिङ गरेर बिचौलियाले युवालाई खाडी मुलुक पठाएको खुलेको छ । ‘सुरुमा ताराबहादुर कुँवरले सेटिङ मिलाएको देखिन्छ, पछि यो काम नरवीरले गरेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।
पक्राउ परेकामध्येका एक ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङले पनि अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन् ।
अदालतमा दायर अभियोग-पत्रमा समावेश उनको बयानमा भनिएको छ, ‘नरवीर खड्काबाट सेटिङ मिलाएर मैले करिब ३ सय जना पठाएको थिएँ, त्यसवापत एक करोड रुपैयाँजति उनलाई बुझाएको छु ।’
बाँकी अन्य कर्मचारी मिलाउने काम खड्काले नै गर्ने गरेको उनले बताएका छन् । ‘को-कसलाई मिलाउनुहुन्थ्यो नरवीर सरलाई नै जानकारी होला’, उनले भनेका छन् । नरवीरको बयानका आधारमा प्रहरीले थप ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नरवीरलाई प्रहरीले सेटिङवापतको २ लाख रुपैयाँ होटल वाल्टिक इनबाट लिएर फर्किंदै गर्दा पक्राउ गरेको थियो । अध्यागमनका कर्मचारीहरुमाथि छानबिन अघि बढेको बेला विमानस्थलमा कर्मचारीहरुले केहीअघि काम समेत रोकेका थिए ।
प्रहरीले अनावश्यक दुःख दिएको र आफूहरुको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै कर्मचारीले ज्ञापनपत्र समेत बुझाएका थिए ।