२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । आव २०७९/८० को तुलनामा यो संख्या थोरैले कम हो ।
२०७९/८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमी आएको बताउँछन् । उनका अनुसार मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको छ ।
कुन महिनामा कति गए ?
विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् ।
त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ६०० र असारमा ५८ हजार ७३६ वैदेशिएको तथ्यांक छ ।
यूएई पहिलो गन्तव्य
विभागका अनुसार पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ ।
यूएईमा मात्रै गत आवमा १ लाख ९३ हजार ४३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् ।
पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् ।