हवाई भाडाले आकाश छोयो, मर्कामा विदेश जाने श्रमिक

8 Nov, 2024

होम कार्की, सुरज कुँवर

काठमाडौँ — हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् । त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् । यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो ।

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि त्रिभुवन विमानस्थल शुक्रबार (कात्तिक २३) देखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने जनाएको छ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती भएको हो । दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका हुन् ।

सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ को नीति सबै रोजगारदाताले पूर्ण रूपमा लागू नगर्दा धेरैजसो श्रमिकले हवाई भाडा वृद्धिको मार खेप्नुपरेको छ । खाडी र मलेसियामा करिब ४ प्रतिशत श्रमिक मात्र शून्य लागतमा गइरहेका छन् । खाडी तथा मलेसिया उड्न हवाई कम्पनीले सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध गराउँदै आएका थिए । अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ ।

नेपालीको रोजगारीका प्रमुख गन्तव्यहरू सबैको हवाई भाडामा अत्यधिक बृद्धि भएको छ । दुबईको भाडा बढेर ८० हजार पुगेको छ । जबकि यसअघि कामदारले दुबईका लागि ३० देखि ३५ हजार मात्र तिरे पुग्थ्यो । साउदी अरबका रियाद र दमामका लागि एकतर्फी भाडा ४० देखि ४५ हजार रहेकोमा बढेर ८० हजारभन्दा माथि पुगेको छ । त्यस्तै नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको क्वालालम्पुरको एकतर्फी भाडा ३५ हजार मात्र रहेकोमा त्यो बढेर भाडा औसतमा ६५ हजार पुगेको छ । कुवेतको भाडा ४५ हजार रहेकोमा १ लाख नाघेको छ । त्यस्तै दोहाको भाडा ३५–४० हजार रहेकोमा त्यो बढेर ८० हजार बढी छ ।

भाडा वृद्धिले वैदेशिक रोजगारमा जाने श्रमिकको लागत शुल्क थप बढाएको छ । ‘पहिला हवाई शुल्क सस्तो थियो, नेपालबाट ३० हजारमै दुबई उड्न पाइन्थ्यो । अहिले टिकट पाउनै मुस्किल छ । यो पटक ८५ हजार तिर्नुपर्‍यो,’ इटहरीका श्याम थपलियाले भने ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने बाध्यकारी व्यवस्था छ । तेस्रो मुलुकको विमानस्थल ट्रान्जिट मात्र प्रयोग गर्न पाइन्छ । दिल्लीबाट उड्नका लागि नेपाली दूतावासबाट ‘एनओसी’ लिनुपर्छ ।

सीमित एयरलाइन्स कम्पनीको मिलेमतोमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारीमार्फत अस्वाभाविक रूपमा टिकटको मूल्यवृद्धि गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आरोप छ । ‘त्रिभुवन विमानस्थल स्तरोन्नतिको बहानामा एयरलाइन्स कम्पनीहरूले टिकटको कालोबजारी गरे, यसको प्रत्यक्ष मार वैदेशिक रोजगारीमा जाने श्रमिक परेका छन्,’ संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने ।

व्यवसायीका अनुसार हवाई भाडाको अत्यधिक वृद्धिले कतिपय रोजगारदाता पछाडि हट्न थालेका छन् । ‘केही राम्रा कम्पनी छन्, जसले टिकट दिन्छन् । तर हवाई भाडा दोब्बर परेपछि उनीहरूले निश्चित रकम मात्र बेहोर्छन्,’ उनले भने, ‘रोजगारदाता कम्पनीले टिकट खर्च नबेहोर्दा यसको भार श्रमिकले बेहोर्नुपर्ने निश्चित छ ।’

भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट खाडी तथा मलेसिया उड्ने हवाई भाडा कम छ । दिल्लीबाट दुबईको हवाई भाडा २६ हजारदेखि ३० हजार रुपैयाँ, बंगलादेशबाट २३ हजारदेखि २६ हजार रुपैयाँसम्म मात्र छ । तर, पछिल्ला दिनमा काठमाडौं–दिल्लीको भाडामा भएको अस्वाभाविक बृद्धिले नेपाली कामदारहरूलाई दिल्ली हुँदै वैदेशिक रोजगारीमा जान पनि महँगो पर्ने देखिन्छ । दिल्लीको १० देखि १५ हजार रुपैँयासम्म रहेको एकतर्फी भाडा बढेर कम्तीमा ४० हजार पुगेको छ ।

हवाई टिकटको मूल्यवृद्धिले नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आर्थिक रूपमा कठिनाइ भएको सुरक्षित आप्रवासन सञ्जालका अध्यक्ष चिरञ्जीवी बराल बताउँछन् । ‘हवाई भाडा जथाभावी वृद्धि हुँदा विदेश जाने श्रमिकको लागत वृद्धि हुन्छ, उनीहरूमाथि थप ऋणको बोझ पर्छ, परिवारमा थप आर्थिक तनाव निम्त्याउँछ,’ उनले भने ।

राष्ट्रिय मानवअधिकार आयोगले हवाई भाडाको वृद्धिदरलाई आफ्नो जानकारीमा राखेको जनाएको छ । ‘सरकार र उड्डयन अधिकारीले निगरानी र नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ,’ आयोगका सचिव मुरारीप्रसाद खरेलले भने, ‘यसलाई नियन्त्रण गर्न सरकारी निकायले कडा कदम चाल्न, पारदर्शिता र उपभोक्ता अधिकारको सुरक्षा गर्न आवश्यक छ ।’

श्रमिकको लागत शुल्क बढ्नुको जिम्मेवारी म्यानपावर कम्पनीलाई दिन नहुने संघका अध्यक्ष भण्डारी बताउँछन् । ‘श्रमिकको लागत शुल्क बढ्नुको दोष सधैं म्यानपावर कम्पनीलाई देखाएर सरोकार पक्ष पन्छिने प्रवृत्ति छ । हवाई टिकटको कालोबजारी सजिलै फैलिरहेको छ,’ उनले भने, ‘ट्राभल कम्पनीको गतिविधि अनुगमन गर्ने मापदण्ड अभावले यो समस्या उग्र बनेको छ ।’

३० प्रतिशत उडानमा कटौती हुँदा भाडादर बढेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाए । ‘२१ घण्टा चलिरहेको विमानस्थल १४ घण्टामा झर्दै छ, यसले उडानमा ३० प्रतिशत कटौती हुन गयो,’ उनले भने, ‘त्यसमाथि नेपालसँग भएका द्विपक्षीय हवाई सम्झौता खुला बजार र स्वतन्त्र भाडादर हुने अवधारणामा आधारित छ । यसले माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण हुन्छ । सरकार र नियमनकारी निकायले भाडादरमा हस्तक्षेप गर्न कानुनी आधार छैन ।’

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजनाअनुसार विमानस्थलको स्तरवृद्धि गर्न विमानस्थलले शुक्रबारदेखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने भएको हो ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौं विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउने/जाने गरेर ३ सयवटा आन्तरिक र १ सयवटा अन्तर्राष्ट्रिय उडान हुँदै आएका थिए । शुक्रबारदेखि विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदा ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती हुने छन् ।

‘एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौं विमानस्थलको स्तरोन्नतिको कामको निरन्तरता हो यो,’ प्राधिकरणअन्तर्गत रहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले कान्तिपुरसँग भने, ‘अहिलेको पूर्वाधार विस्तार र स्तरोन्नतिले काठमाडौं विमानस्थलले आगामी वर्षमा १ करोड २० लाख हाराहारी यात्रुलाई सेवा दिने प्रक्षेपण गरिएको छ । अहिले यसले वार्षिक करिब ८० लाख यात्रुलाई सेवा दिइरहेको छ । तर यसको क्षमता करिब ५० लाख हाराहारी मात्रै हो ।’

धावनमार्गको लम्बाइ ३ हजार ३ सय ७४ मिटर छ । अहिले १९ सय मिटर लम्बाइको एक मात्र समानान्तर ट्याक्सी–वे छ । यो रन–वेदेखि १ सय १० मिटरको दूरीमा पश्चिमतर्फ पर्छ । धावनमार्गबाट जहाज बाहिरिन र भित्रन अहिले ५ वटा एक्जिट टेक्सी–वे छन् । विमानस्थलको एप्रोनमा अहिले ११ वटा अन्तर्राष्ट्रिय र १८ वटा आन्तरिक विमानको मात्र पार्किङ क्षमता छ । अहिलेको रन–वेको क्षमता प्रतिघण्टा भीएफआर उडानमा ३३ वटा र खराब मौसमका बेला उपकरणको सहायताबाट १२ वटा उडान प्रतिघण्टा रहेको छ । स्तरोन्नतिपछि यो दर २० देखि २५ प्रतिशतले वृद्धि हुने आयोजनाले जनाएको छ ।

काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रतिघण्टा १५ सय ७० यात्रु तथा वार्षिक क्षमता ३६ लाख यात्रुलाई सेवा दिन्छ । त्यस्तै, एक मात्र आन्तरिक टर्मिनल भवनले प्रतिघण्टा यात्रु ५ सय र वार्षिक यात्रु १० लाख हाराहारीलाई सेवा दिन्छ । प्राधिकरणले विमान तथा यात्रुहरूको चाप अत्यधिक बढ्न गएकाले विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तार गर्ने योजना डेढ दशकअघि ल्याएको थियो ।

जसअनुसार मुख्यतः रन–वेको लम्बाइ बराबर हुने गरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी–वे तथा एक्जिट ट्याक्सी–वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोन, विमान मर्मतसम्भार गर्न सुरक्षित ह्यांगर आदि निर्माण गर्ने योजना गुरुयोजनमा छन् । त्यसैगरी हालको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक टर्मिनल भवनमा रूपान्तरण गरि प्रतिघण्टा ३५ सय तथा वार्षिक ९० लाख यात्रु क्षमताको नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण हुनेछ ।

विमानस्थलभित्र यतिबेला सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा नेपाली रुपैयाँ करिब १५ अर्बका तीनवटा फरकफरक ठेक्का सञ्चालनमा छन् । ती योजनामा एसियाली विकास बैंकको सवा ४ अर्ब ऋण सहायतामा पहिलो रन–वेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सी–वे निर्माण गर्ने कार्य, दोस्रो पनि यसैको करिब ४ अर्ब ऋणमा रन–वेको पूर्वतर्फ ह्यांगर एप्रोन तथा एक्जिट ट्याक्सी–वेहरू निर्माण भइरहेको छ । तेस्रो, नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ७ अर्ब लागानीमा रन–वेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सी–वे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण जारी छ । इन्जिनियर श्रेष्ठका अनुसार, सरकार र प्राधिकरणको आर्थिक स्रोतमा कोभिडपछि नै सुरु भएको ७ अर्ब रुपैयाँ हाराहारीको उत्तरमा करिब २७ मिटरसम्मको गहिरो भागमा माटो भरेर १८ वटा अन्तर्राष्ट्रिय वायुयानका लागि एप्रोन बनाउने कामको थालनी भएको थियो ।

विमानस्थलभित्रका आयोजनामा उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन तथा ट्याक्सी–वेसम्बन्धी काममा चिनियाँ कम्पनी एभिक इन्टरनेसनल, पूर्वमा रहने ह्यांगर, एप्रोन तथा ट्याक्सी–वेमा एभिक–सीसीईसीसी जेभी र समानान्तर ट्याक्सी–वेमा गान्सु मेकनाइज इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन गरी तीनवटा चिनियाँ ठेक्कादार कम्पनी संलग्न छन् । यिनले विमान उडान र अवतरणका लागि तयार गरिएको क्षेत्र धावनमार्ग, विमानलाई विस्तारै गुडाएर विमानस्थलको एक भागदेखि अर्को भागसम्म जोड्ने मार्ग ट्याक्सी–वे, यात्रु वा मालसामान चढाउने/उतार्ने, इन्धन भर्ने, पार्किङ वा मर्मतसम्भार गर्ने क्षेत्र एप्रोनलाई आईकाओको मापदण्डअनुसार पूर्णता दिनेछन् ।

नेपाललाई बाँकी विश्वसँग जोड्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आधुनिक नभएको, जहाजहरू अत्यधिक होल्डमा बस्नुपर्ने, उडान डिले हुनेलगायतका समस्या सामाना गरिरहेका बेला नेपालले सन् २०१२ मा ६ अर्ब रुपैयाँ हाराहारीको विमानस्थलको स्तरोन्नति परियोजना ठेक्का स्पेनिस कम्पनी कन्ट्रकटोरा सानजोसेको जिम्मा लगाएको थियो ।

उक्त विदेशी कम्पनीले काममा गरेको ढिलाइ, आर्थिक र व्यवस्थापकीय चुनौती, स्थानीयसँगको विवाद, भूकम्प, नाकाबन्दीलगायतका कारण सानजोसेले सन् २०१६ मार्चमा सम्पन्न गर्नुपर्ने काम नसकेपछि यो विवाद सिंगापुरस्थित सिंगापुर इन्टरनेसनल आर्बिटेसन सेन्टर (एसआईएसी) मा पुगेर २०२१ मार्चमा एसआईएसीले नेपालको पक्षमा फैसला सुनाउँदै सानजोसेबाट क्षतिपूर्ति पनि भराएको थियो ।

‘सानजोसेसँगको विवाद सकिएपछि दुई वर्षअघि रोकिएका काम पुनः ठेक्का लगाउने काम भयो,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘अब पनि विस्तारसँग जोडिएका काममा ढिलाइ गर्दा लागत वृद्धि हुने, ठेक्काको म्याद थपिरहनुपर्नेलगायतका झन्झट थपिन सक्छन् । त्यसैले आउँदो मनसुनअघि नै विमानस्थलको गुरुयोजनाअनुसार धावनमार्गलाई दुवैतर्फ ट्याक्सी–वेमा जोड्ने, एप्रोन बनाउने, आन्तरिक र अन्तर्राष्ट्रिय विमानको पार्किङ क्षमता विस्तार गर्नेलगायत एसोसिएट काम सक्ने योजनामा छौं ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024