काठमाडौँ — निर्यात, पर्यटन, विदेशी लगानीलगायत विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमा अपेक्षित सुधार नहुँदा पनि लगातार रेमिट्यान्स बढेकाले अर्थतन्त्रको बाह्य क्षेत्रमा कीर्तिमान कायम भएको छ । विदेशी मुद्रा सञ्चितिले ३० महिनादेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ भने शोधनान्तर र चालु खाता बचत पनि थप बलिया बनेका छन् ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत माघको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार सात महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो ।
पछिल्लो डेढ वर्षयता हरेक महिना एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको छ । यही कारण विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन, विदेशी लगानी, विदेशी अनुदान तथा सहायताको अवस्था नाजुक हुँदा पनि अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलियो बन्दै गएका हुन् ।
गत माघसम्मको विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । गत माघसम्मको सञ्चिति २०८१ असारको तुलनामा १६.१ प्रतिशतले बढेको हो । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । चालु वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।
विदेशी विनिमय सञ्चिति बढ्नुमा रेमिट्यान्सकै योगदान बढी छ । २०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको थियो । अघिल्लो वर्ष आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दो छ ।
चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ थियो ।
विदेशमा आर्जन गरेको रकम नेपाल भित्रने क्रम निरन्तर बढिरहे पनि सरकारी आम्दानी र खर्चमा सुधार हुन नसक्दा अर्थतन्त्रले गति भने लिन सकेको छैन । निरन्तर बढिरहेको रेमिट्यान्स नेपालमा उपयोगसमेत हुन नसकिरहेको अर्थविद्ले बताएका छन् । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, शोधनान्तरलगायत सूचक निरन्तर बलिया भए पनि समग्र अर्थतन्त्रका सूचकहरू सन्तोषजनक नरहेको अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
‘आन्तरिक ऋणमार्फत सरकारले र तरलता व्यवस्थापनमार्फत राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेका छन् । राजस्व असुली राम्रो छैन,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा सीमान्त रूपमा बढे पनि उक्त अवधिमा विस्तार भएको कुल आन्तरिक कर्जा गत वर्षभन्दा कम छ । यसले गत वर्षभन्दा अहिले अर्थतन्त्र संकुचनमा रहेको संकेत गर्छ ।’
ब्याजदर घटिरहनु, मूल्यवृद्धिमा चाप नहुनुले बजारमा समग्र माग बढ्न नसकेको र आर्थिक गतिविधि चलायमान नभएको उनको टिप्पणी छ । अर्थतन्त्रको बाह्य क्षेत्रबाट लाभ लिन तीनवटै तहका सरकार र निजी क्षेत्रले तीव्र रूपमा लगानी विस्तार गर्नुपर्ने थापाको सुझाव छ । सँगै राजस्व र वैदेशिक सहायता परिचालनमा पनि तीव्रता दिनुपर्ने उनले बताए ।
गत माघमा औसत मूल्यवृद्धि (वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति) ४.१६ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो । सात महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थिए ।
गत माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८०, दाल तथा गेडागुडीको ९.०६, तरकारीको ७.५६ र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गत माघसम्ममा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको सात महिनामा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब २४ करोडले बचतमा छ । ‘गत माघसम्म शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा छ,’ राष्ट्र बैंकले भनेको छ, ‘गत वर्षको माघसम्ममा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा थियो ।’
चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड अथवा ३.८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड अथवा ७ प्रतिशतले बढेको थियो । वार्षिक रूपमा माघसम्म निक्षेप ९.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।