हमास आक्रमणमा मारिएका विद्यार्थीका परिवारलाई इजरायलीसरह बीमा

14 Dec, 2023

इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिगसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्। नेपालका लािग इजरायलका राजदूत खनान गोदरले मारिएका विद्यार्थीका परिवारका सदस्यलाई बुधबार बिहान टीकापुरमा भेटेर आफ्नै देशका नागरिकसरह बीमा सुविधा उपलब्ध गराउने जानकारी दिएका हुन्।

राजदूत गोदरले मारिएका विद्यार्थीका परिवारलाई इजरायली नागरिकसरहको व्यवहार गरिने आश्वासमेत दिएका छन्। उनले आगामी दिनमा पनि आफूहरू मारिएका विद्यार्थीका परिवारको साथमा रहने बताए। ‘भोलिका दिनमा पनि के गर्न सकिन्छ भन्नेबारेमा सोचिरहेका छौं,’ उनले भने, ‘इजरायल सरकार यहाँहरूको साथमा छ।’

गोदरले मारिएका विद्यार्थीका परिवारका सदस्यसँग टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय भवनमा भेट गरेका थिए। त्यस क्रममा उनी निकै भावुक देखिएका थिए। उनले मारिएका विद्यार्थीका परिवारका सदस्यलाई सान्त्वना पनि दिए। भेटघाटमा मारिएका १० जना विद्यार्थीका परिवारका सदस्य उपस्थित थिए।

भेटका क्रममा राजदूत गोदरले इजरायलबाट हमासको अपहरणमा परेका विद्यार्थी कञ्चनपुरका विपीन जोशीका बुबा महानन्द जोशीलाई पनि भेटे। जोशीले छोराको पर्खाइमा रहेको भन्दै सहयोगका लागि अनुरोध गरे। जोशीलाई आश्वस्त पार्दै राजदूत गोदरले सक्दो पहल भैरहेको बताए। दिउँसो राजदूत गोदर इजरायलमा मारिएका टीकापुरका दुई विद्यार्थीको घरमा पनि पुगेका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024