हमासको चेतावनीपछि विपिन जोशीको ज्यान थप जोखिममा

4 Sep, 2024

हमासले इजरायली सेनाले दबाब कायम राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएपछि नेपालका विपिन जोशीको ज्यान थप जोखिममा परेको छ।

इजरायलसँगको युद्ध रोक्ने विषयमा बारम्बार भएको वार्तामा कुनै सहमति हुन नसके पछि हमासले बाँकी रहेका बन्धकहरू ‘कफिनभित्र’ फर्काइने चेतावनी दिएसँगै विपिनको ज्यान थप जोखिममा परेको हो।

हालसम्म विपिन जोशीको वास्तविक अवस्था ज्ञात नभएपनि उनी हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले बताएको थियो। गत वर्षको अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गर्दा जोशी बेपत्ता भएका थिए भने १० जना नेपाली मारिएका थिए।

विपिनलाई हमासका व्यक्तिले लगेको त्यतिबेला इजरायलमा रहेको उनकै साथीहरूले पनि बताएका थिए। तर, पछिल्लो समय उनको रिहाइका लागि खासै पहल हुन सकेको छैन भने इजरायल र हमासबीचको वार्ता पनि निस्कर्षबिहीन हुँदै आएको छ।

हमासले पछिल्लो समय बन्धक बनाएका इजरायलीसहित अमेरिकी नागरिकको हत्या गरेपछि इजरायलमाथि युद्धविरामका लागि दबाब बढ्न थालेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ भने प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकहरूको हत्या गरेको दावी गर्दै आएका छन्।

यही स्थिती कायम रहेमा बन्दकहरू कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत चेतावनी दिएका हुन्।

यो चेतावनीसँगै विपिनको ज्यान थप जोखिममा परेपछि उनको परिवार थप चिन्तामा परेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024