हट्यो दुईवर्षे श्रम स्वीकृति

16 Mar, 2023

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई सरकारले बुधबारबाट हटाएको छ । साथै, नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थासमेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै जिम्मेवारी सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुईवर्षे करारपत्रलाई हटाएको हो ।

मन्त्रालयले श्रम स्वीकृतिको म्याद समाप्त भई कल्याणकारी कोषबाट राहत पाउन कठिनाइ भएकाले रोजगारदाता र कामदारबीच हुने करारपत्रअनुसार नै श्रम स्वीकृति दिने नीति लिएको छ । ‘हामीले दुईवर्षे करारपत्रका आधारमा श्रम स्वीकृति जारी गर्दै आएका थियौं, अब यो प्रावधान हटेको छ,’ श्रम सचिव एकनारायण अर्यालले कान्तिपुरसँग भने, ‘रोजगारदाता र कामदारबीच हुने करारपत्रको आधारमा श्रम स्वीकृति जारी हुनेछ ।’

नेपालबाट दुईवर्षे करारपत्रमा गए पनि रोजगारदाताको मागअनुसार कामदारले करारपत्र नवीकरण गर्दै आएका थिए । मलेसियामा तीनवर्षे करारमा काम गर्ने कानुनी व्यवस्था भए पनि नेपालबाट दुईवर्षे करारपत्रमा कामदार लैजाने गरिएको थियो । दक्षिण कोरियाका लागि चार वर्ष १० महिना र इजरायलमा ५ वर्षे करारपत्रको प्रावधान छ । मन्त्रालयका अनुसार यो प्रावधान राहत तथा उद्धारसँग सम्बन्धित छ । हाल दुईवर्षे करारपछि पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधान छ ।

मलेसियामा मात्र दुईवर्षे श्रम स्वीकृतिको म्याद सकिएर काम गर्ने नेपालीहरूको संख्या एक लाखभन्दा बढी छ । वैदेशिक रोजगार बोर्डले करार म्याद समाप्त भई मृत्यु तथा घाइते भएकालाई राहत रकम दिने व्यवस्था छैन । बोर्डले म्यादभित्र मृत्यु भएकालाई ७ लाख रुपैयाँ दिने, त्यसबाहेक घाइतेको उपचार र जेलमा परेका कामदारको कानुनी खर्च बेहोर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा पनि बोर्डले १३ सय ३५ मृतकका परिवारलाई ५३ करोड ८३ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो । तर, श्रम स्वीकृतिको म्याद गुज्रेको मृतकका परिवारलाई राहतस्वरूप २५ हजार रुपैयाँ मात्रै दिँदै आएको छ ।

श्रम सचिव अर्यालले रोजगारदाता र कम्पनीबीच करारपत्रको अवधि तोकिए पनि कामदारले पाउनुपर्ने सेवा सुविधा भने सम्बन्धित देशको श्रम कानुनअनुसार नै पाउने बताए । मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । अब कामदारले बिमा र कल्याणकारी कोषको रकम तिरेपछि दूतावासबाट नै पुनः श्रम स्वीकृति लिन पाउने बाटो खुलेको अर्यालले बताए । कामदारले अनलाइनबाट पनि पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको छ ।

पूर्वसचिव पूर्णचन्द्र भट्टराईका अनुसार करारपत्रमा आधारित श्रम स्वीकृतिको व्यवस्थाले कामदारको कल्याणकारी कामको सुनिश्चितता भएको छ । ‘गन्तव्य देशको नजरमा कानुनी हैसियतमा रहेका कामदार दुईवर्षे श्रम स्वीकृति हुँदा नेपालको नजरमा गैरकानुनी भयो । यो ठूलो समस्यालाई सम्बोधन भएको छ,’ उनले भने, ‘अब विदेशमा कानुनी र नेपालको नजरमा गैरकानुनी हुँदैन ।’ गन्तव्य देशकै दूतावासबाट श्रम नवीकरण गर्दा कामदार बोर्डको कल्याणकारी सेवाबाट वञ्चित हुनु नपर्ने भट्टराईले बताए । ‘दूतावासको भूमिका बढाउनुपर्ने आवश्यकता छ । दूतावासबाटै नवीकरण गर्ने हिसाबले कामदारलाई निकै सहज हुन्छ । अब दूतावासबाट दिइने सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनशक्ति थप गर्नुपर्छ,’ उनले भने ।

दुई दशकदेखि कतारमा कार्यरत पोखराका बिल गुरुङले दूतावासमार्फत नै श्रम स्वीकृति नवीकरण गर्न पाइयोस् भन्ने आम श्रमजीवी नेपालीको आवाज सम्बोधन भएको बताए । ‘दुई वर्षको श्रम स्वीकृत दिइन्छ तर बिमा रकम भने तीन वर्षको तिर्नुपर्छ । यसबाट श्रमिकहरू दोहोरोतेहरो मारमा परेका छन्, यसतर्फ अझै सरकारको ध्यान जान सकेको छैन,’ उनले भने, ‘जति वर्षको श्रम स्वीकृति हो, त्यहीअनुसार बिमा रकम लिने व्यवस्था गर्नुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024