हजार नेपालीले काबुल छाडे : तीन सय स्वदेश आइपुगे, सात सय बाटोमा

20 Aug, 2021

 पर्शुराम काफ्ले

 

अफगानिस्तानस्थित विभिन्न राजदूतावासको सुरक्षामा खटिएका अधिकांश नेपाली नागरिकले बिहीबारसम्म काबुल छाडेका छन् । काबुलस्थित अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, जर्मनी राजदूतावासमा कार्यरत नेपालीलाई काबुलबाट दोहा, तासकन्द, अलमाटी, साइप्रस, दुबई, कुवेत र लन्डन पुर्‍याइएको छ । लन्डनमा रहेका नेपालीहरू क्वारेन्टिनमा छन् भने पारगमन (ट्रान्जिट)मा रहेका नेपालीहरू क्रमशः स्वदेश फर्किनेछन् ।

काबुलबाट आउने क्रममा विभिन्न देशमा हुनुहुन्छ  : रामप्रसाद सुवेदी प्रमुख, दिल्लीस्थित नेपाली दुतावासका उपनियोग प्रमुख 

काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत चार सय ७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब हजार नेपाली नागरिकले काबुल छाडिसक्नुभएको छ, उहाँहरू कोही स्वदेश आइपुग्नुभयो, कोही आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ ।

‘काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत करिब चार सय ७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब हजारजना नेपाली नागरिकले काबुल छाडिसक्नुभएको छ, उहाँहरू स्वदेश आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने ।

बिहीबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप आठजना नागरिक फर्केका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म दुई सय ९६ जना नागरिक स्वदेश आइपुगेका छन् । शुक्रबार बिहान एक सय ६० जना चार्टर उडानबाट आइपुग्दै छन् भने बाँकी पनि क्रमशः स्वदेश आउने क्रममा छन् ।

उपनियोग प्रमुख सुवेदीका अनुसार काबुल छाडिसकेका नेपालीलाई उनीहरू कार्यरत राजदूतावासले फर्किने चाँजोपाँजो मिलाएको छ । ‘कोही पारगमन मुलुकबाट नियमित उडानमार्फत स्वदेश फर्किनुभएको छ,’ सुवेदीले भने ।

काबुलमै राष्ट्रसंघीय मिसनमा रहेका नेपालीको पनि सुरक्षाको प्रत्याभूति भएको छ । उनीहरूमध्ये सयजना परिस्थिति सहज भएपछि बिदामा स्वदेश आउनेछन् भने बाँकी काबुलमै रहनेछन् ।

गैरकानुनी रूपमा त्यहाँ पुगेका नेपालीको हकमा भने विवरण यकिन भएपछि अर्को साता उद्धारका लागि उपाय तय हुनेछ । काबुल विमानस्थलमा अहिले सिभिल एयर स्पेस बन्द छ । भारत, अमेरिका, बेलायत र जर्मनीका सैन्य जहाजले मात्रै त्यहाँ उद्धार गरिरहेका छन् ।

‘हामीले तालिवान काबुल प्रवेश नगर्दै त्यहाँको सम्भावित परिस्थितिको आकलन गरेर नेपाली कार्यरत रहेका राजदूतावासहरूको मुलुकसँग समन्वय थालिसकेका थियौँ, त्यही समन्वयका आधारमा अमेरिका र बेलायती दूतावासमा कार्यरत नेपालीको यथाशीघ्र उद्धार गर्‍यौँ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘अमेरिका, बेलायतसहित ठूला मुलुककै नागरिकको अझैसम्म उद्धार भइसकेको छैन, तर नेपाली नागरिकको उद्धार भएको छ, हामीले गरेको कूटनीतिक प्रयास सफल भयो भन्ने हाम्रो बुझाइ हो ।’

अफगानिस्तानमा नेपालको कूटनीतिक उपस्थिति छैन । पाकिस्तानले अफगानिस्तान मामिला सञ्चालन गर्दाको समयमा पाकिस्तानका लागि तत्कालीन राजदूत (हाल परराष्ट्रसचिव) भरतराज पौड्याल २०७१ मा अफगानिस्तानका काबुल र विभिन्न प्रान्त पुगेका थिए । त्यसपछि अफगानिस्तान मामिला हेर्ने कुनै पनि नेपाली राजदूत काबुल पुगेका छैनन् । परराष्ट्रसचिव पौड्यालले आफ्नो त्यही कूटनीतिक अनुभवका आधारमा अहिले अमेरिका, बेलायत, जर्मनी, भारत, क्यानडा, संंयुक्त राष्ट्रसंघसँग समन्वय गरिरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

परराष्ट्रका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा बिहीबार अपराह्नसम्म तीन सयजना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् । परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको कार्यदलमा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा पनि बिहीबार अपराह्नसम्म ४२ जना नेपालीले आफ्नो नामसहितको विवरण दर्ता गराएका छन् । 

‘त्यसमध्ये कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको, कतिपयको एकैजनाको धेरै ठाउँबाट विवरण भरिएको र कतिपयको उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगिसक्नुभएकाले त्यसलाई रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024