स्वरोजगार बनाउन ११ सय बढी युवालाई तालिम

21 Feb, 2025

दिलबहादुर छत्याल

बजारको माग अनुसारको सिप सिकाई युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले बिहीबार देखि धनगढीको खुला मञ्चमा सीप तथा रोजगार मेला सुरु भएको छ । ४० दिन सम्म चल्ने मेलाको एक समारोह बिच बिहीबार नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्।

धनगढी उपमहानगरपालिकाको आयोजनामा भएको मेलामा सुदूरपश्चिमका ९ वटै जिल्लाका ३९ पालिकाका १ हजार ४० जना युवालाई २९ विधामा तालिम दिन सुरु गरिएको छ ।

युवाहरूलाई स्वरोजगार र स्व उद्यमी बनाउन तथा बजारको माग अनुसार दक्ष जनशक्ति तयार पार्न यो मेला आयोजना गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।

काठमाण्डौ महानगरपालिकाले काठमाण्डौमा आयोजना गरेपछि देशभरमै युवाहरूलाई स्वरोजगार र स्व उद्यमी बनाउने गरी आयोजना गरिएको यो मेला दोश्रो भएको उनले बताए ।

युवाहरूमा व्याप्त निराशा हटाउन र देशबाट पलायन भइरहेका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो मेला आयोजना गरिएको उनको भनाई छ । वैदेशिक रोजगारमा गएका युवाहरू पनि सिप, ज्ञानको कमीले राम्रो काम र तलब पाउन सकेका छैनन् । यो मेलाले स्वदेशमै रोजगार सृजना गर्नुका साथै वैदेशिक रोजगारीमा गए पनि अहिलेको भन्दा राम्रो र आकर्षक रोजगारी र पारिश्रमिक प्राप्त गर्न सहयोग पुग्ने नगरप्रमुख हमालले बताए ।

धनगढी उपमहानगरपालिकाले आयोजना गरेपनि यो ९ वटै जिल्लाका युवाहरूका लागी मेला आयोजना गरिएको उनले बताए । ‘युवाहरूलाई उद्यमशीलता तर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेशतिर भइरहेको युवाहरूको पलायन रोक्न सङ्घीय सरकार, प्रदेश सरकारले र सबै पालिकाले यस्ता सिप तथा रोजगार मेला आयोजना गर्नु जरुरी छ ’नगर प्रमुख हमालले भने । यो मेलाले युवाहरूलाई स्व उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागी पनि उत्प्रेरित गर्ने उनको भनाई छ ।

मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अहिले देशकै आवश्यकता भएको बताए । सङ्घीय सरकारले नै दक्ष जनशक्ति निर्माणका लागी विशेष पहल गर्नुपर्ने उनले जोड दिए ।

‘एउटा स्थानीय तहले मात्र तालिम दिएर पुग्दैन, अव सङ्घीय सरकारले मन्त्रालय नै खडा गरेर एकीकृत रुपमा तालिम सञ्चालन गर्नु पर्छ ’उनले भने । मेलाको प्राविधिक संयोजन गरिरहेको नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमले गरिरहेको छ।

इलेक्ट्रिक कार(ईभी), मोटरसाइकल, स्कुटर मर्मत, टायल मार्बल फिक्सर, फर्निचर, बिल्डिङ पेन्टर, प्लम्विङ, फास्टफुड, मोबाइल, सिसिटिभी लगायतका मेकानिकल लगायतका छुट्टा छुट्टै समुहमा दक्ष प्रशिक्षकले तालिम दिइरहेको महासङ्घका अध्यक्ष प्रमोद पाठकले बताए ।यसै गरी हेयर कटिङ देखि पुरोहित सम्मको तालिम मेलामा दिइराखिएको छ ।

४ हजार ८ सय ३० जनाले आवेदन दिएको मध्य छनौट गरेर १ हजार ४० जनालाई मात्र तालिम दिन लागिएको उनको भनाई छ । बिहीबार देखि सुरु हुने मेलामा ३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवन उपयोगी र उद्यमशीलता विकास सम्बन्धी तालिम दिइने छ । भने २ दिन रोजगार दाता र तालिम लिएका युवाबिच अन्तरक्रिया गर्न रोजगार मेला हुने छ ।

आज एकातिर युवाहरू बेरोजगार भएको र अर्कोतर्फ बजारमा आवश्यक जनशक्ति नपाइएर विदेशबाट मगाउनु पर्ने अवस्था रहेको छ । बजारको माग अनुसार आवश्यक २९ विधामा तालिम दिइन लागेको रोजगार व्यवसायी महासङ्घ प्रदेशका महासचिव छत्र बमले बताए । काठमाडाैं आयोजना भएको मेलाको संयोजन समेत गरेका बमले त्यहाँबाट पाठ सिकेर थप परिमार्जित रुपमा यो मेलाको सञ्चालन भएको उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024