‘स्वदेशमै मेहनत गरे कृषिबाटै मनग्य कमाउन सकिने रहेछ’

15 Jul, 2024

३१ असार, मध्यविन्दु । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी फेरिएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत ३ वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन् ।

नेपाली सेनाको जागिरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् । ‘उमेरमै जागिरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु’, उनले भने, ‘विदेशमा १० घन्टा बगाउने पसिना यहाँ ४/५ घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ ।’

दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहेका छन् । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनको भनाइ छ ।

‘पहिलो वर्ष प्रतिगोटा रु ४० का दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो’, निर्मलले भने, ‘तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् ।’ उनको व्यावसायिक केराखेतीबाट २ जनाले रोजगारीसमेत पाएका छन् ।

अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि निर्मललाई सन्तुष्टि दिलाएको छ । ‘अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा ७ रुपैयाँका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्’, उनले भने, ‘प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु ।’

समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको उनले बताए । ‘सिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ’, उनले भने ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छौं’, उनले भने, ‘किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ ।’

पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ । केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024