सूचना प्रविधिले प्रहरी रिपोर्ट सहज बन्दै

13 Nov, 2018

अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिन प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्।

इमेल पाउनासाथ प्रहरी मुख्यालयले आवेदन तथा कागजातउपर परीक्षणलगायत प्रक्रिया पूरा गरी तयार रिपोर्ट अञ्जुको इमेलमै पठाइदियो। देशबाहिर धेरै टाढा भएर पनि आवदेन पठाएको भोलिपल्टै अञ्जुले रिपोर्ट सजिलै पाइन्। प्रहरी रिपोर्ट लिन उनले प्रहरी कार्यालय धाउनु परेन।

विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परे यसअघि सम्बन्धितका आफन्त प्रहरी प्रधान मुख्यालयै पुगेर आवेदन दिनु पर्थ्यो। फेरि रिपोर्ट लिन जानु पर्थ्यो। स्वदेशमै पनि फारम दर्ता गर्न लामो लाइन बस्नु पथ्र्यो। आजभोलि त्यस्तो झन्झट छैन।

अञ्जुजस्तै विदेशमा रहेर सूचना प्रविधि उपयोग गरी प्रहरी सेवा लिनेको संख्या ह्वात्तै बढेको छ। ३ महिनायता विदेशमा रहेका ३६ सयले आवेदन दर्ता गरेका थिए। तीमध्ये ३५ सय ५० लाई मुख्यालयले रिपोर्ट पठाइसकेको छ। कुल दर्तामध्ये ७ सय ४९ जनाले इमेलबाट आवेदन दिएकोमा सबैलाई इमेलबाटै रिपोर्ट पठाइएको जानकारी प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले दिए।

३ महिनामा प्रदेश प्रहरी कार्यालयबाट २१ सय ४८ जनाले रिपोर्ट लिएका छन्। गत वर्ष प्रहरीमा कुल २ लाख ७९ हजार ३ सय ३ जनाले प्रहरी रिपोर्टका लागि फारम दर्ता गरेका थिए। तीमध्ये ४३ हजार ७ सय ६० महिला र २ लाख ३५ हजार ५ सय ४३ पुरूष थिए। फाराम दर्ता भएकामध्ये २ लाख ७७ हजार ४ सय ९५ लाई रिपोर्ट वितरण गरिएको थियो।

सेवाग्राहीको सजिलोका लागि काठमाडौं उपत्यकाका रानीपोखरी, महाराजगन्ज, गौशाला, कालीमाटी, ललितपुरको जावलाखेल र भक्तपुरमा आवेदन दर्ता तथा रिपोर्ट वितरण केन्द्र तोकिएको छ। उपत्यकाबाहिर ७ वटै प्रदेश प्रहरी कार्यालयमा यो सुविधा छ। भीड हुने केन्द्रमा बिहान ८ बजे नै फारम लिने व्यवस्था छ। उपत्यकामा आवेदन दिएको ३ दिनमा र प्रदेशमा ७ दिनमा प्रहरी रिपोर्ट प्राप्त गर्न सक्छन्। सुवेदी भन्छन्, ‘विदेशमा रहेका नेपालीलाई आवश्यक प्रहरी रिपोर्ट छिटो छरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलमै पठाउने व्यवस्था गरिएको छ। विदेश जाने नेपालीलाई विभिन्न केन्द्र र सात वटै प्रदेशबाट आवेदन लिने र प्रमाणपत्र दिने ब्यवस्था छ।’

क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस), अटोमेटेड फिंगरप्रिन्ट आइडेन्टीफिकेसन सिष्टम (एएफआइएस) र क्यारेक्टर भेरिफिकेसन इन्फर्मेसन सिस्टम (सीभीआईएस) सफ्टवेयर प्रहरी रिपोर्ट तयार पार्न प्रयोगमा छन्। सीआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ। यसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ। एएफआईएस सफ्टवेयरले कुनै विदेशी नेपालमा रहँदाको आपराधिक अभिलेख औंठाछापबाट थप जाँच गर्न मद्दत गर्छ।

दुवै प्रक्रियाबाट आवश्यक जाँचपछि फम्र्याटअनुसार रिपोर्ट प्रिन्ट गर्न सीभीआईएस सफ्टवेयरले सघाउँछ। सूचना प्रविधि निर्देशनालयका प्रहरी प्रमुख डीआईजी सुनिलकुमार        श्रेष्ठ भन्छन्, ‘प्रहरी रिपोर्ट वितरण व्यवस्थित र छिटोछरितो बनाउन यी सफ्टवेयरले सघाएका छन्।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024