समाजले सबैजसो पेसा, संस्था र जिम्मेवारीमा युवाको प्रतिनिधित्व र हस्तक्षेपकारी भूमिकाको खोजी गर्न थालेको छ । युवाले पनि कृषिदेखि सूचना प्रविधि, रोजगारीदेखि लगानी र अनुसन्धानदेखि उद्योगसम्म उपस्थिति बढाउँदै लगेका छन् । आफ्नो भूमिकामा नयाँपन र नयाँ आधार सिर्जना गरेका छन् ।
विश्वमा भएका नवप्रवर्तनबारे सबैभन्दा पहिले जानकारी पाउने नै युवा भएकाले उनीहरूसँग समस्या र सम्भावना पहिल्याउने शक्ति पनि तीक्ष्ण हुन्छ । त्यसैले यतिबेला युवालाई हौसला आवश्यक छ ।
युवा भन्नासाथ दुई पक्ष जोडिन्छन् । पहिलो, उमेर । अन्तर्राष्ट्रिय संस्था तथा देश विशेषले आफूअनुकूल उमेरको सीमा निर्धारण गर्ने गर्छन् । जस्तो कि, संयुक्त राष्ट्रसंघ तथा विश्व बैंकले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेको छ । नेपालको राष्ट्रिय युवा नीतिअनुसार १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनिएको छ । २०७८ सालको जनगणनाअनुसार यस्तो जनसंख्या ४२.५६ प्रतिशत छ ।
उमेर मुख्यतः ऊर्जा र आँटसँग जोडिन्छ । दोस्रो, नयाँ विचार, नयाँ चिन्तनशैली, समस्या समाधानको नयाँ बाटो पहिल्याउन सक्ने व्यक्ति वा समूह पनि युवा नै हो । यो अवस्था त्यतिबेला बन्छ, जतिबेला व्यक्ति स्वयंले समाजका बृहत् सत्यसँग साक्षात्कार गर्छ । स्वयंलाई अद्यावधिक गर्छ । मुख्यतः समयसँग आफूलाई सान्दर्भिक बनाउँछ । त्यसैले युवाको सन्दर्भमा चर्चा गर्दा यी दुई पक्षलाई एकै ठाउँमा राखेर हेर्नुपर्छ । जुन समाजमा यी दुई पक्षको मिलन हुन्छ, त्यहाँ समृद्धिको सम्भावना पनि बढी नै हुन्छ ।
आज नेपालको राजनीतिमा नयाँ अनुहारहरूको खोजी भइरहेको छ । गत निर्वाचनमा युवा र नयाँ उम्मेदवारप्रति मतदाताको चाहना प्रकट भएको थियो । लगभग ४० प्रतिशत स्थानीय सरकारका जनप्रतिनिधिमा ४० वर्षमुनिका युवा नै निर्वाचित भएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा युवाको उपस्थितिले गुणात्मक प्रभाव पारेको कैयौं उदाहरण पाइन्छन् । आगामी दिनमा युवा उम्मेदवारप्रतिको चाहना र युवाको उपस्थिति थप बलियो बन्दै जाने निश्चित छ ।
उसै पनि ७० वर्ष हाराहारीमा पुगिसकेका प्रायः पार्टीका नेतृत्व वर्गसँग समाजको गति पहिल्याउने अद्यावधिक ज्ञान र सीप नभएकोमा समाज विश्वस्त भइसकेको छ । उमेरकै कारणले पनि अब उनीहरूको बहिर्गमनको समय आइसकेको छ । त्यसैले अबको एक दशकभित्रै राजनीतिको बागडोर नयाँ पुस्तामा आउने निश्चित छ । त्यसलाई नयाँ पुस्ताले कति आफूतिर तान्न सक्छ भन्नेचाहिँ प्रतीक्षाको विषय छ । तर राजनीति अहिलेको जस्तो ‘जमेको पोखरी’ को हालतमा नरहने निश्चित नै छ । त्यसपछि नेपालको राजनीति पुनः आशातर्फ फड्को मार्न सक्छ ।
राजनीति त एउटा क्षेत्र मात्रै भयो । सूचना प्रविधि, विज्ञान, कूटनीति, कानुन, प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद, साहित्य, फिल्म, उद्यमजस्ता क्षेत्रमा युवा उपस्थिति एकसाथ बलियो बन्दै छ । अझ ‘जेन जी’ पुस्ताकै हस्तक्षेपकारी उपस्थिति सम्भव बन्दै छ । नयाँ–नयाँ क्षेत्र पहिचान गरेर त्यसलाई आफ्नो व्यवसाय वा कार्यक्षेत्र बनाएका, रोजगारी सिर्जना गरेका पनि छन् । नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भइरहेको अध्ययनमा देखिएको छ । यस्तो पेसामा जोडिने प्रायः नयाँ पुस्ताकै छन् ।
युवाको यस्तो उपस्थितिले समाजलाई अझै बढी ऊर्जा दिइरहेको छ । किनकि, उनीहरूसँग नयाँ पुस्ताले आफूलाई ‘कनेक्ट’ गर्न सक्छ । हौसला र आदर्शको रूपमा लिन सक्छ । यो पुस्ताको सोच्नेदेखि अभिव्यक्तिशैली नै नयाँ हुने भएकाले समाजको आवश्यकता र आकांक्षालाई नै नयाँ रूपमा परिभाषित गर्न सक्छ, जुन नयाँ पुस्ता सापेक्ष हुनेछ । यतिबेला राज्यका नीति र नेतृत्वसँग उनीहरूको ऊर्जा र उर्वरता, चिन्तन र चेतना, गति र गन्तव्य पहिल्याउन सक्ने क्षमताको आवश्यकता छ । त्यसले नै हरेक क्षेत्रमा पुस्तान्तरणलाई सहज बनाउन सक्छ ।
युवाबारे चर्चा हुँदा नछुट्ने अर्को एउटा प्रसंग छ– युवा जति सबै बाहिर छन् । ठोस तथ्यांक नभए पनि करिब ५० लाख युवा अध्ययन वा श्रमका लागि देशबाहिर रहेको आकलन गरिन्छ । कुनै पनि देशका युवा आफ्नो सम्भावना पछ्याउँदै विश्वका अन्य भूगोलमा पुग्नु स्वाभाविक मान्नुपर्छ । यसलाई आशा वा निराशाको मापनको आधार बनाउनु हुँदैन ।
अध्ययनका लागि गएकाहरूले नेपाल फर्किएर आफ्नो ज्ञान र चेतनाको उपयोग गर्ने आधार पनि बनिरहेको छ । त्यसरी फर्किएकाहरू राजनीतिदेखि अन्य क्षेत्रमा जोडिएका छन् । जसले सम्बन्धित पेसामा जोडिएका पुराना पुस्ता वा जोडिन चाहेका नयाँ पुस्ताले अध्ययन वा बृहत् चेतनाको आवश्यकताबोध गर्नेछन् । त्यसले सम्बन्धित पेसाको गुणस्तर वृद्धिमै सहयोग पुग्छ । जो विदेशबाट तत्काल फर्किंदैनन् उनीहरूले पनि डायस्पोराको शक्तिका रूपमा काम गरिरहेका छन् । देशका बौद्धिक पुँजीका रूपमा काम गरिरहेका छन् । निष्कर्ष यही हो कि, देशलाई अगाडि बढाउन युवा पुस्ता परिपक्व भइसकेको छ । त्यसले नै नेपाललाई सुनौलो युगमा पुर्याउनेछ ।