‘सीप सिकेर अमेरिका जानेले चाँडै काम पाउँछ’

22 Jul, 2024

काठमाडौँ, साउन ५ गते । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासले त्यहाँ रहेका नेपालीलाई एकापसमा जोड्ने, नेपाली भाषा, संस्कृतिको संरक्षण एवम् अमेरिका आउने युवालाई ‘जब सेटलमेन्ट’को भूमिका खेल्दै आएको छ ।

समाजका महासचिव विजय भुसालका अनुसार टेक्सासमा रहेका करिब एक लाख नेपालीलाई आइपर्ने तत्कालको समस्या समाधानमा समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको छ । त्यहाँ जन्मने बच्चाको न्वारनदेखि कालगतिले त्यहाँ निधन हुने नेपालीको हिन्दु संस्कृतिअनुसार अन्त्येष्टि गर्ने काममा समेत समाजले सघाउँदै आएको भुसालको भनाइ छ ।

समाज सन् १९९८ मा स्थापना भएको र स्थापनाकालदेखि त्यहाँ बस्ने नेपालीहरूको समस्या समाधानमा योगदान दिँदैआएको महासचिव भुसालले बताउनुभयो । समाजले नेपाली सांस्कृतिक केन्द्र स्थापना गरेको र टेक्सासमा आठ हेक्टर जमिन खरिद गरी पशुपतिनाथ मन्दिर तथा अन्य संरचनाहरू निर्माणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अमेरिकामै जन्मने बालबालिकालाई नेपाली भाषा, संस्कृतिबारे ज्ञान दिने, नेपाली संस्कार सिकाउने काम गर्दैआएको उहाँले बताउनुभयो । अमेरिकामा बस्ने नेपाली काम विशेषले विभिन्न स्टेटमा बस्ने गरे पनि सम्पर्कमा आएका सबैको समस्या समाधानमा समाजले सहजीकरण गर्नेगरेको उहाँको भनाइ छ ।

“भाषा सिक्नु ज्ञान बढाउनु हो, अमेरिकाको विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई नेपाली भाषा, संस्कृतिको ज्ञान दिँदा उहाँहरूको ज्ञानको दायरा विस्तार हुनेगर्छ” उहाँले भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा, लुम्बिनी, भगवान् गौतम बुद्धबारेमा बालबालिकालाई जानकारी गराउँछौँ, हाम्रो पहिचानबारे ज्ञान दिन्छौँ । नयाँ ज्ञान पाएर बच्चाहरू उत्साहित हुन्छन् ।”

अमेरिकामा करिब ७ लाख नेपाली काम विशेषले बस्नेगरेको र सोमध्ये करिब १ लाख नेपाली टेक्सासमा मात्र रहेको महासचिव भुसालले बताउनुभयो । अमेरिकामा सबैभन्दा धेरै नेपाली बस्ने स्टेट टेक्सास भएकाले त्यहाँ नेपाली समाजलाई जोड्न सांस्कृतिक कार्यक्रम गर्न सहज भएको उहाँको भनाइ छ ।

अमेरिकी स्टेट र त्यहाँका काउन्टीसँग समन्वय र समझदारी गरी समाजले काम गरिरहेको उहाँले बताउनुभयो । अमेरिकास्थित नेपाली राजदूतावाससँग पनि सहजीकरण गरी काम गर्नेगरेको उहाँले जानकारी दिनुभयो । अमेरिकामा बस्ने नेपालीका लागि समय नै सम्पत्ति भएको महासचिव भुसालले बताउनुभयो ।

उहाँले थप्नुभयो, “अमेरिकामा बस्ने नेपालीका लागि समय नै सम्पत्ति हो । समय नै सबैचिज हो । समयअनुसार मेहनत नगर्ने हो भने केही उपलब्धि हुँदैन । समयको महत्वबारेमा सबैले ध्यान दिनुपर्छ ।”

अमेरिकामा जाने नेपालीले सीप सिकेर जाँदा छिटो काम पाउनेगरेको उहाँले बताउनुभयो । ड्राइभिङ त झन् अनिवार्य सिकेर जानुपर्छ, काममा जाँदा सबैले गाडीको प्रयोग गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो, “आफूले गर्ने कामको क्षेत्रको सीप सिकेर अमेरिका आउँदा युवाहरूले छिटो काम पाउनेगरेका छन् । अङ्ग्रेजी भाषा बोल्न सक्ने सीप पनि हुनैपर्छ, खाना पकाउन जान्ने सीप सिकेको हुनुपर्छ ।”

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024