सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यक : महामन्त्री थापा

10 Mar, 2025

काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा महामन्त्री थापाले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिनासीपको न्यूनस्तरको श्रमशक्ति रहेको बताए ।

नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको पनि थापाको भनाइ थियो । विदेशमा बिनासीपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको पनि उनको दाबी थियो ।

‘नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन् । नेपालीले काम पाएन भनि रहेका छौँ तर किन काम पाएन भन्नेकुरा यस्तो छ । चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसावमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ । किन यस्तो भयो होला ? श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ । तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो,’ थापाले भने, ‘श्रम बजारमा मान्छे छ । कसैले उद्योग खोल्यो । उसलाई श्रमिक चाहिएको छ । सीप दिने अर्कैतिर छ । जुन सीप चाहिएको हो त्यो आइरहेको छैन । फेरि बाहिर (विदेश) को बजारले सीप नभएको मान्छे चाहिएको छ । हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ । उसँग उमेर छ, श्रम शक्ति छ तर सीप छैन ।’

नेपालमा सीप भएका लागि मात्रै रोजगारीको अवसर पैदा भएको थापाको भनाइ थियो । ‘हाम्रोमा सीप भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा । कृषि क्षेत्रमा भएको श्रम शक्ति ८५ प्रतिशत तह एकको छ,’ उनले भने । महामन्त्री थापाले देशमा ठूलो जनसंख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए । सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ थियो । यस्तो अवस्थामा नेपालीमा भएको सीपअनुसारको रोजगारीको अवसर सिर्जना गर्नुपर्ने थापाले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024