सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरूआत: प्रम ओली

27 Nov, 2018

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन्। पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताए। सन्देशमा उनले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन्।

‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ । उनले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गरे। मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ। प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सुरक्षा योजना शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात भएको बताए। उनले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिलसमेत गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024