कोरिया सरकारले उपलब्ध गराएको रोजगारीबाट स्वदेश फर्केका युवाहरू नेपालमा आफैं एउटा ‘सानो कोरिया’ जस्ता हुन्। तिनले त्यहाँबाट कमाइ गरेर पैसा मात्र ल्याउँदैनन्, ल्याउँछन् साथमा भाषा, संस्कृति र सिप।
कोरियाको चकाचौध देखेका युवाका मनमा स्वदेश फर्कंदा मनभरि आकांक्षा हुन्छन्। देशभित्र त्यसैगरी काम गर्ने चाहना थपिन्छन्। तर, देश फर्केपछि ती चाहनामा तुषारापात हुन्छ। देश फर्केपछि उद्योग व्यवसाय गर्छु भन्नेहरूका लागि सरकारबाट कुनै सेवा र सुविधा उपलब्ध छैन।
सरकारले सहयोग नगरे पनि उनीहरू आफैंले भने सानो प्रयास गर्दै आएका छन्। आफ्नो श्रम र पुँजी उत्पादकत्वमा खर्चिंदै अन्य फर्किनेहरूलाई पनि नेपालमै उद्योग, व्यापार, व्यवसाय गर्न गराउन प्रेरित गर्ने उद्देश्यले करिब १२ वर्ष पहिला खोलिएको संस्था हो– अंकुर नेपाल।
कोरियाली रोजगारी नेपालका लागि अत्यन्त महत्त्वपूर्ण वैदेशिक रोजगारीको विकल्प हो। अहिलेसम्म अंकुरले रोजगार अनुमति प्रणाली (इपिएस) लगायतका कोरियाली रोजगारीबाट सुरक्षित स्वदेश फिर्ता भएका तथा पुनस्र्थापनाको क्षेत्रमा काम गरेको सुवेदीले बताए।
‘सुरक्षित तरिकाले घर फर्काउने मात्र नभएर नेपाल पुनस्र्थापना गर्न र कोरियामा आर्जित पुँजी र सिपलाई नेपालमै लगानी गरी आफ्नै माटोमा फूल फुलाउन सिकाउने संस्था हो अंकुर नेपाल,’ उनले भने।
‘कोरियाबाट नेपाल फर्किएर सफलतापूर्वक व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूप्रति हामी धेरै आभारी छौं,’ उनले भने, ‘केही गर्छु भनेर स्वदेश फर्किएका युवालाई सरकारले सेवासुविधा दिएको भने छैन। त्यसमा धेरै दुःखी छौं। तर, कोरियाबाट फर्की व्यापार व्यवसायमा सफल भएका उद्यमीलाई श्रम मन्त्रालयले राष्ट्रिय पुरस्कार वितरण गर्ने गरेको छ। त्यो उद्यमीका लागि अर्को हौसला हो।’सुवेदीका अनुसार इपिएस र कोरियाली मानव संशाधन विभाग (एचआरडी)को सहयोगमा स्थापना भएको अंकुर नेपाल कोरियाबाट फर्किएका युवालाई भविष्यको बाटो देखाउँदै आएको छ।
‘नेपाली युवामार्फत गणतन्त्र कोरियामा आर्जित सिप र पुँजीलाई उचित व्यवस्थापन तथा लगानीमार्फत स्वदेशमै रोजगारीको खोजी गर्दै फर्किएका युवालाई सरकारले केही चासो देखाएको छैन,’ उनले भने, ‘बरु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने काम अंकुर नेपालले गरेको छ।’
नेपालकै व्यवसायमा संलग्न गराउन सरकारले भन्दा बढी अंकुर नेपालले प्रोत्साहन गरेको कोरियाबाट फर्केका उद्यमीहरू पनि स्वीकार गर्छन्।
उनीहरू कोरियाबाट फर्किएपछि स्वदेशमा के गर्ने भन्ने अन्योलमा थिए। ‘कोरियाबाट फर्किंदा हामीसँग पुँजी र सिप त थियो, त्यो सिप र पुँजी स्वदेशमा लगानी गरेमा फाइदा हुन्छ नै भन्ने विश्वास थिएन। हामी रनभुल्लमा थियौं। अंकुरको सहायताले आज रसिलो एग्रिकल्चर सफल भएको छ,’ उद्यमी बानियाँले भने।
नेपालमा व्यावसायिक कृषि पेसा सञ्चालन गर्ने उद्देश्यसहित रसिलो एग्रिकल्चरले स्थानीय क्षेत्रमा कृषिजन्य सामग्री फलफूल तथा अन्य उत्पादन गरी संकलन, प्रशोधन र बजारीकरण गर्ने काम गर्दै आएको छ। रसिलो एग्रिकल्चर नेपालले उक्त काम गर्दै आएको १० वर्ष भइसकेको उद्यमी बानियाँले बताए।
‘भक्तपुरमा दुई रोपनी जग्गा भाडामा लिएर आफ्नै प्रशोधन केन्द्र स्थापना गरेका छौं,’ उनले भने, ‘देशैभरिबाट विभिन्न कृषि सामग्री संकलन गरी प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ काम हुन्छ। हाल कम्पनीले ५० भन्दा बढी जिल्लाबाट संकलन भएका १५० प्रकारका सामान बजारमा उपलब्ध छन्।’
२० भन्दा बढी जिल्लामा कम्पनीको आफ्नै संकलन केन्द्र र विभिन्न स्थानीय सरकारहरूसँग सहकार्यमा उत्पादन तथा बिक्रीको पहल भइरहेको उनले बताए।
देशको आर्थिक मन्दीले रसिलो एग्रिकल्चर व्यवसायमा केही फरक नपरेको उनले बताए। ‘अहिले नेपालमा आर्थिक मन्दीले गर्दा अरू व्यवसायलाई धक्का परे पनि हाम्रो कम्पनीलाई केही असर परेको छैन,’ उनले भने, ‘अधिकांश देशका युवा वैदेशिक रोजगारीका लागि बिदेसिएका छन्।
ग्रामीण भेगमा उत्पादन नभएको हुँदा आर्थिक मन्दीले भन्दा बढी असर पारेको छ। मानिस विभिन्न रोगसँग लडिरहेका छन्। अहिलेका सबै मानिस मौलिक (अग्रानिक) खानेकुराको माग हुन्छ। पहिलेजस्तो छैन अहिलेको समय।’
उनले भने, ‘मानिसको जीवनमा पहिलो प्राथमिकता भनेकै गास, बास र कपास हो। सबैभन्दा ठुलो दैनिक उपभोग्य खाद्यवस्तु हरेक घरको भान्सामा चाहिन्छ। हामीले गासका लागि कृषिजन्य फलफूल तथा अन्य सामग्री उत्पादन गरी संकलन, प्रशोधन र बजारीकरण गर्छौं। त्यही भएर आर्थिक मन्दीले समेत असर पारेको छैन। हाल देशको अवस्था हेर्दा हाम्रो व्यवसाय बास र कपास भएको भए पक्कै घाटामा हुन्थ्यो।’
‘नेपालमा व्यवसाय सञ्चालन गरेर रोजगार प्रदान गर्दैगर्दा महिलालाई साथ लिनु हाम्रो पहिलो प्राथमिकता हो। चामल, दाल, गेडागुडीजस्ता खाद्यान्न निफन्ने काम महिलाले नै गर्ने भएकाले धेरै कामदार महिला भएका हुन्,’ उद्यमी बानियाँले भने।
‘रसिलो एग्रिकल्चरले ओखलढुंगामा अर्गानिक अकबरे खुर्सानी, मार्सी धान, मकै, चिनो, कागुनो, ब्याक राइस, घैया धान, रायो सागको गुन्द्रुक र दन्ते ओखरलगायत थुप्रै खाद्यवस्तु उत्पादन गर्ने गरेका छौं,’ उनले भने, ‘आउँदो वर्ष कफीखेती पनि उत्पादन गर्न तयारीमा छौं।’ कोरियाबाट फर्किएर रसिलो एग्रिकल्चर खोलेका सात युवा आफ्नो व्यवसायमा सन्तुष्टि रहेको उनीहरू बताउँछन्।
रसिलो एग्रिकल्चर कम्पनीले किसानहरूलाई उत्पादन वृद्धिसाथै उद्यमशीलता विकास वित्तीय साक्षरतालगायत तालिम सञ्चालन गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या उकालो लागिरहेको छ। जसले गर्दा ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझो हुँदै गएका उद्यमीहरूको गुनासो छ। ‘किसानहरूको वास्तविक समस्या थाहा पाई किसान र आम युवालाई प्रेरणा जगाउनुपर्ने हो। साथै बाँझो जग्गाको भू–उपयोग गर्दै माटो, मौसम र भूगोल सुहाउँदो कृषि, अन्न बाली तथा फलफूल उत्पादन गरी त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु आजको आवश्यकता हो,’ बानियाँले भने।
वर्षांैदेखि बाँझो रहेका जमिनमा रैथाने तथा अर्गानिक कृषि उत्पादनका लागि देशका तीनवटै सरकार र किसानहरूबिच उत्पादनदेखि बजारीकरणसम्ममा सहकार्य गर्ने रसिलो एग्रिकल्चरका उद्यमीहरूको भावी योजना रहेको छ।
‘रैथाने तथा अर्गानिक उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार खोज्ने भूमिका निर्वाह गर्ने हाम्रो उद्देश्य रहेको छ,’ उनले भने, ‘उद्यमशीलता, वित्तीय साक्षरता तथा व्यावसायिक योजनाका विषयमा स्थानीय किसान तथा कोरियाबाट फर्किएका साथीबिच तालिम सञ्चालन गर्ने हो।’
विदेशबाट फर्किएका युवालाई कृषि क्षेत्रमा काम गर्नका लागि प्रेरित गर्दै कृषिमा व्यवसायीकरणका लागि एउटा रोल मोडल तयार गरिएको हो। ‘कृषि नै जीवन हो’ भन्ने मूल नाराका साथ सरकारले उनीहरूप्रति केही सेवासुविधा प्रदान नगरे तापनि कृषिमै समर्पित भएर अगाडि बढ्दै जाने उद्यमी बानियाँले बताए।
यी केही साना प्रयास हुन्। सरकारले नै कोरियाबाट सिप, संस्कृति र संस्कार सिकेर आएका नेपालीलाई बाटो देखाउने हो भने मुलुकमा उद्यमशीलता विकासका निम्ति सहयोग पुग्छ। देशभित्र सिर्जना भइरहेको ‘सानो कोरिया’ लाई वास्ता गर्ने कि ?