सात दिने तालिमबाट पुतलीदेवीले देखेको सपना

5 Nov, 2024

सविता बुढा

बझाङको थलारा गाउँपालिका–१ निवासी पुतलीदेवी थापाले ४० वर्षको उमेरमा साबुन बनाउन सिकिन्।

चार महिनाअघि सात दिनको तालिमबाट उनी चिउरी, घिउकुमारी, ढटेल्ला, खडीढुंगा, पाँङर माटो, खरानी र सिस्नो प्रयोग गरेर नुहाउने, लुगाधुने र भाँडा धुनेसाबुन बनाउन जान्ने भइन्।

‘गाउँघरमा खेर जाने चिजबाट साबुन बनाउन सकिने कुराले मलाई छक्क मात्र पारेन, यस्तो कुरा मन पनि पर्‍यो,’ उनले भनिन्, ‘सात दिनको तालिममा मैले खुब ध्यान दिएर साबुन बनाउने तरिका सिकें।’

थलारा गाउँपालिकाको बेंसीतिरका फाँटमा चिउरीका रूख छन्। आआफ्नो जमिनका रूखको फल टिपेर किसानहरू चिउरीको तेल बनाउँछन्।

पुतलीदेवीले चिउरीको तेल र पिनाबाट दुई किसिमको साबुन बनाउन सिकिन्।

‘चिउरीको तेलबाट नुहाउने र पिनाबाट लुगा धुने साबुन बनाउने तरिका जानें,’ उनले भनिन्, ‘चिउरीको साबुनले नुहाउँदा हाडजोर्नीको दुखाइ निको हुन्छ, घिउकुमारीको साबुनले अनुहारको चायापातो हट्छ भनेका छन्।’

स्थानीय गैरसरकारी संस्था ‘प्रगतिशील युवा समाज’ ले थलारा गाउँपालिकाका दुईवटा वडाका २५ जना कृषकलाई साबुन बनाउने तालिम दिएको थियो। त्यसमा महिलाको संख्या बढी थियो।

तालिम दिने संस्थाले साबुन बनाउन चाहिने उपकरणमा सुरुवाती लगानी गरिदिने वचन पनि दिएको थियो।

पुतलीदेवीको वडाका नौ जना महिला तालिममा सहभागी भएका थिए। उपकरण पाइने भएपछि तीमध्ये पुतलीदेवीसहित तीन जना साबुन उत्पादन गर्न अघि सरे।

साबुन उत्पादन गर्ने टुंगो लागेपछि उनीहरूले बेंसीका गाउँतिरबाट चिउरीको तेल किनेर जम्मा गरे।

खेतबारी र जंगलबाट सिस्नो जम्मा गरे, सुकाए। सुकेको सिस्नो बालेर पाउडर (खरानी) बनाए। खडीढुंगा खोज्न भिरमा गए। साबुन बनाउन चाहिने केही सामान बजारबाट ल्याए।

आवश्यक रसायन, मिक्स्चर मेसिन, ग्यास सिलिन्डर र भाँडाकुँडा तालिम दिने संस्थाले किनिदियो। साबुनको प्याकेट बनाउन प्रयोग मेसिन पनि संस्थाले नै दिएको छ।

उनीहरूले गाउँको एउटा रित्तो घरमा उद्योग राखेर गत असोजमा साबुन उत्पादन थालेका छन्। पिठो मसिनो बनाउने मेसिन नहुँदा ओखलमा पिसेर पिठो बनाउने गरेका छन्।

हाल उनीहरू खडीढुंगा, चिउरीको तेल, घिउकुमारी, सिस्नु र रिठ्ठो प्रयोग गरेर नुहाउने साबुन बनाउँदैछन्। चिउरीको पिनाबाट लुगा धुने तथा माटो र खरानी प्रयोग गरेर भाँडा धुने साबुन पनि बनाउन थालेका छन्।

उनीहरूले पहिलो चरणमा सुहाउने साबुन तीन सयवटा तयार पारे। यही कात्तिक १ गतेदेखि बझाङ सदरमुकाम चैनपुरमा भएको शिलादेवी मेलाको कृषि प्रदर्शनीमा बिक्रीका लागि राखे। त्यहाँ २९० वटा साबुन बिक्रीबाट १४ हजार ५३० रुपैयाँ प्राप्त भयो।

हाल उनीहरूले मेसिनले गर्ने केही काम हातैले गर्नुपरेको छ। यसो गर्दा श्रम बढी परेको छ, उत्पादन पनि कम हुन्छ।

पुतलीदेवी भन्छिन्, ‘पिठो बनाउने मेसिन छैन, नंग्रा खियाएर काम गर्दै छौं। मेसिन आएपछि धेरै साबुन बनाउन सक्छौं।’

पुतलीदेवीको घरमा सात जनाको परिवार छ। श्रीमान् कामका लागि भारतको बैंगलरूमा छन्। दुई छोरा र दुई छोरी पढ्दै छन्। छोराछोरीको पढाइखर्च र घरखर्चका लागि कमाउन श्रीमान् भारत गएको उनले बताइन्।

पुतलीदेवीले गाईभैंसी पालेकी छन्। थोरै पाखो जमिन पनि छ। गाईभैंसीको स्याहार र खेतीकिसानी उनको मुख्य काम हो।

पाखो जमिनमा खासै उत्पादन हुँदैन। सिँचाइको सुविधा छैन। वर्षाको भरमा खेती गर्नुपर्छ। गाउँमा गाडी पुगेको छैन। पुतलीदेवी धान, कोदो, भटमास, गहत, मास र मकै फलाउँछिन्। यो उत्पादनले केही महिना खान पुग्छ।

अब भने पुतलीदेबीले साबुन उद्योग चलाएरै पैसा कमाउने सपना देख्न थालेकी छन्। आफूले बनाएका साबुनले बजार पायो भने उनलाई दुईचार पैसाको लागि भारत गएका श्रीमानको मुख ताक्नुपर्ने छैन।

‘प्रगतीशील युवा समाज’ का सामाजिक परिचालक ताराप्रसाद ओझाका अनुसार संस्थाले आफ्ना प्रशिक्षार्थीले उत्पादन गरेको साबुनको बजारीकरणका लागि सहयोग गर्नेछ।

थलारा गाउँपालिका–५ को ‘भैरव साना किसान कृषि सहकारी संस्था’ मा बिक्री कक्ष रहेको उनले बताए।

‘अहिले कामको सुरुवाती चरण हो। उत्पादन बढ्दै गएपछि उद्योगका लागि थप सहयोग जुटाउन पहल गर्छौं,’ ओझा भन्छन्, ‘बजारीकरणका लागि बिक्रीको अनुमति लिने काम भइरहेको छ।’

पाखो जमिनको खेतीबाट हैरान पुतलीदेवी र उनका साथीहरूले साबुन उद्योगबाट आर्थिक अवस्था सुधार गर्ने सपना देखेका छन्। पहिलो चरणको साबुन बिक्रीबाट उनीहरू उत्साहित भएका छन्। बिस्तारै लगानी बढाउँदै मेसिन जोड्ने र साबुन उत्पादन बढाउने उनीहरूको योजना छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024