साउदी दूतावासमा सेवाग्राहीको संख्या बढ्दो

5 Apr, 2024

साउदी अरब : साउदीमा नेपाली श्रमिकको संख्या बढेसँगै यहाँस्थित दूतावासबाट सेवा लिनेको संख्या पनि बढ्दै गएको छ। दूतावासले १८ घण्टासम्म कार्यालय खुला राखेर सेवाग्राहीलाई सुविधा दिइरहेको जनाएको छ। राजदूत नवराज सुवेदीले सीमित स्रोत साधनको बाबजुद पनि दूतावासले आवश्यकताअनुसार दैनिक १८ घण्टा काम गरिरहेको बताए। मंगलबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत सुवेदीले पासपोर्ट नवीकरण लगायतका कामका लागि दैनिक ५ सयभन्दा बढी सेवा ग्राहीलाई सुबिधा दिइरहेको बताए। रातदिन खटेर काम गर्दा पनि केही मिडियाले अनर्गल दुस्प्रचार गरिरहेको भन्दै राजदूत सुवेदीले असन्तुष्टि जनाए।

‘राजदूतावासले सीमित स्रोत, साधन तथा साउदी अरबको विशाल भूगोल, विषम हावापानी र भिन्न परिवेशका बाबजुद नेपाली श्रमिकलाई सहज रूपमा राहदानी, कन्सुलर, उद्धार, सेल्टर, बहिर्गमन भिसा, शव फिर्ता, बिमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको छ,’ उनले भने ।

राजदूत सुवेदीले भने, ‘मागपत्र प्रमाणीकरण, उद्धार, घर फिर्तीलगायतका समस्या परे इजाजत पत्रवालाहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायहरूसँग समय–समयमा अनलाइन अन्तरक्रिया गरी समाधान गर्ने गरेको छ ।’ व्यक्तिगत स्वार्थ पूरा नगरिदिँदा केही अराजक समूहले दूतावासविरुद्ध अनेक प्रचार गरिरहेको उनको भनाइ थियो। नियोग उपप्रमुख डम्बरु बल्लभ पौडेलले कुनै गलत काम भए, सजाय भोग्न तयार रहेको भन्दै ‘भ्रामक समाचार’ विरुद्ध कदम चालिने बताए। ‘केही मेनपावरको मार्केटिङ आह्वान स्वीकार गर्न नमान्दा तथा नियमविपरीत काम गर्न नमान्दा दूतावास र यहाँका कर्मचारीको चरित्रहत्या गर्ने काम भएका छन,’ उनले भने, ‘यस्ता गलत कार्यविरुद्ध दूतावास पनि कानुनी उपचारमा जाने विषयमा छलफल भइरहेको छ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024