साउदी अरबमा कोरोनाबाट एक नेपालीको मृत्यु, ६७४ जना संक्रमित

13 May, 2020

वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य बनेको साउदी अरबमा कोरोनाबाट एक नेपालीको मृत्यु भएको छ । साथै, मंगलबासम्ममा ६ सय ७४ जना नेपाली संक्रमित भएका छन्।

साउदी अबरकाे स्वास्थ्य मन्त्रालय तथा विदेश मन्त्रालयले दिएको जानकारीअनुसार ६ सय ७४ जना नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको साउदी अरबस्थित नेपाली राजदूतावासले जनाएकाे छ। 

राजदूतावासका अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा तीन सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा एक सय ४८ जना, रियाद क्षेत्रमा एक सय ७५ जना, कसिम क्षेत्रमा तीन जना, हायल क्षेत्रमा तीन जना  र अन्य स्थानमा नौ जना नेपालीहरू संक्रमित भएका छन् । कूल संक्रमित नेपालीमध्ये ११ जना नेपाली महिला रहेको राजदूतावासले जनाएको छ।

त्यस्तै, कोरोना संक्रमण सुरु भएदेखि विभिन्न कारणले मृत्युभएका ३१ नेपाली नागरिकहरु मध्ये एक जनाको कोरोना संक्रमणबाट मृत्युभएको राजदूतावासले उल्लेख गरेको छ । तर, तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन राजदूतावास साउदी सरकारलाई अनुरोध गरिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साउदी अरबमा मंगलबार सम्ममा कोरोना भाइरसबाट दुई सय ६४ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट संक्रमितको संख्या ४२ हजार नौ सय २५ पुगेको छ । मंगलबारमात्रै एक हजार नौ सय ११ जना नयाँ मा संक्रमित थपिएका छन् । संक्रमण निकाे भएर डिस्चार्ज हुनेकाे संख्या  १५ हजार दुई सय ५७ पुगेकाे छ। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024