साउदी अरबको नेपाली दूतावासमा अनियमितता भएको भन्दै उजुरी

1 Apr, 2024

साउदी अरबस्थित नेपाली दूतावासमा वैदेशिक रोजगारदाता कम्पनीको मागपत्र प्रमाणीकरणमा अनियमितता भएको भन्दै छानबिनका लागि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उजुरी परेको छ । श्रेष्ठ विदेशमा भएकाले रोजगारदाता कम्पनीका तर्फबाट सरोकारवालाहरूले शुक्रबार इमेलमार्फत पठाइएको उजुरीपत्रमा आवश्यक छानबिन र कारबाहीको माग गरिएको छ ।

‘साउदी अरब नेपालका युवाहरूको श्रम गन्तव्यमध्येको महत्वपूर्ण देश रहेको यहाँलाई अवगत नै छ । हरेक दूतावासमा सम्बन्धित देशका रोजगारदाता कम्पनीहरूले मागपत्र प्रमाणीकरण गरेपछि मात्रै कामदार लैजाने वैधता सिर्जना हुने गर्दछ,’ उजुरीमा भनिएको छ, ‘साउदी दूतावासमा रोजगारदाता कम्पनीले ५० जना वा त्यसभन्दा कम संख्यामा कामदार माग गर्दा नियोग उपप्रमुखले प्रमाणीकरण गर्ने र ५० भन्दामाथि संख्यामा मागपत्र आएमा राजदूतको तहबाट प्रमाणीकरण गर्ने चलन रहँदै आएको छ ।’

मागपत्र प्रमाणीकरणका क्रममा दूतावासका उपनियोग प्रमुख डा.डमरुबल्लभ पौडेल र शाखा अधिकृत टीकाराम उपाध्यायबाट अमुक मेनपावर कम्पनी सिफारिस गर्न दबाब भएको निवेदकहरूको आरोप छ । राजदूत नवराज सुवेदी र कर्मचारीहरूका निकटस्थ मेनपावर कम्पनीबाट श्रमित लैजानुपर्ने सर्त गराएर मात्रै प्रमाणीकरण गरिने तथा राजस्वका नाममा अतिरिक्त शुल्क लिने गरिएको पनि उपप्रधानमन्त्री श्रेष्ठलाई पठाइएको उजुरीमा उल्लेख छ ।

साउदी अरबस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा.डमरुबल्लभ पौडेलले उजुरीबारे आफूले जानकारी पाएको र त्यो अनर्गल एवं झुटो प्रचारबाजी भएको प्रतिक्रिया दिए । ‘हामीमाथि जे आरोप लगाइएको छ, त्यो पूरै झुटो हो, एक अंशमा पनि सत्यता छैन । हामीलाई अमुक मेनपावर कम्पनीका मानिसले रोजगारदाता कम्पनीको सूचना मागेका थिए । त्यो दिन मिल्दैनथ्यो । हामीले सक्दैनौं भनेपछि हामीविरुद्ध प्रचारबाजी भएको हो,’ पौडेलले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘सम्बन्धित निकायबाट छानविन होस् । हामी यसमा सहयोगका लागि तयार छौँ । हामीले सबै कुरा नियमपूर्वक गरेका छौँ । उजुरीमा कुनै सत्यता छैन ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024