साउदीस्थित व्यापारिक स्थलमा काम गर्ने आप्रवासीमाथि शोषण र ठगी 

22 Oct, 2024

एम्नेस्टी इन्टरनेसनलले गरेको एक अध्ययनले साउदी अरबमा काम गर्ने आप्रवासी शोषण तथा ठगीमा पर्ने गरेको देखाएको छ।

फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित व्यापारिक स्थलहरूमा आप्रवासी श्रमिकहरूलाई अत्याधिक लामो समयसम्म काममा लगाएको पाइएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

त्यस्तैगरी, श्रमिकहरू भर्ती गर्ने एजेन्टहरूले ज्याला चोरी गर्ने गरेको पाइएको छ।

एम्नेस्टी इन्टरनेसनलले नेपाल, भारत र पाकिस्तानका १७ जना श्रमिकहरूसँग अन्तर्वार्ता लिएर अध्ययन प्रतिवेदन तयार गरेको हो। ती १७ जना श्रमिक साउदीको रियाद, दमाम र जेद्धा लगायत स्थानका क्यारेफोर साइटहरूमा काम गर्थे।

श्रमिकहरूले उक्त काममा साउदी जानका लागि आफ्नै देशमा एजेन्टहरूलाई औसत एक हजार दुई सय अमेरिकी डलर शुल्क तिरेको बताएका थिए।

अधिकांशले उच्च ब्याजमा ऋण लिएर तिरेका थिए।

श्रमिकहरूलाई बहुराष्ट्रिय कम्पनीमा सोझै काम मिल्ने सुनाएर श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएको थियो।
कठोर परिश्रम गर्दा पनि कबोल गरिएको भन्दा कम पारिश्रमिक पाएको गुनासो श्रमिकहरूको छ।

त्यस्तै, हप्तामा ६० घण्टाभन्दा धेरै काम गर्नुपर्ने दैनक २० किलोमिटर हिड्नुपर्ने लगायत कस्टपूर्ण काम गर्नु परेको गुनासो श्रमिकहरूले गरेका छन्।

गोदाममा काम गर्ने एक श्रमिकले एम्नेस्टी इन्टरनेसनललाई बताए अनुसार त्यहाँ रमजानको महिनामा सुपरमार्केट, गोदाम लगायत स्थलमा दैनिक १६ घण्टासम्म काम गर्नुपर्ने थियो।

कहिलेकाहीँ साप्ताहिक बिदा समेत नपाइने उनको भनाइ छ।

‘क्यारेफोर स्टोरहरूभित्र श्रमिकलाई मानव जस्तो व्यवहार गरिँदैन। जनावर जस्तै व्यवहार गर्छन्। खाली छिटो गर छिटो गर भन्छन्। छिटो काम गराउन सर्ट समात्छन्,’ अन्तर्वार्तामा एक श्रमिकले भनेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024